भ्रष्टाचार विरुद्दको अभियानमा राजनीतिक दल लाग्नुपर्छ : नेता सिंह

काठमाडौँ, २६ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्दको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने वताएका छन् ।
प्रजातन्त्र पुनस्र्थापना दिवसको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार विरुद्दको अभियान ः लोकतन्त्रका पर्याय गणेशमान’ विषयक विचार गोष्ठीमा नेता सिंहले भ्रष्टाचार अन्त्यको लागि राजनीतिक दल नै लाग्नुपर्ने वताएका हुन् ।
नेता सिंहले विस २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन स्वर्गीय गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “विस २०४६ सालमा आएको परिवर्तनलाई संस्थागत गर्न नसक्दा विस २०६२÷०६३ को आन्दोलन गर्नुपर्ने अवस्था आयो, यो नेपाली राजनीतिक दलको कमजोरी हो,”–उनले भने ।गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता भएको उनको भनाई थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको वताए । “गणेशमान सिंह लोकतन्त्रका लागि बढी चिन्तन गर्ने र त्यसको संरक्षणका लागि लागिपर्ने व्यक्ति हुनुहुन्थ्यो,”–उनले भने । नेता जोशीले स्वर्गीय सिंह एउटा लक्ष्य राखेर अगाडि बढेको व्यक्ति भएकाले कसैसँग विचलित नभएको वताए ।
पूर्व सभामुख दमननाथ ढुङ्गानाले लौहपुरुष गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता भएको वताए । “भ्रष्टाचार घटाउन व्यक्तिभित्र निष्ठाको खाँचो आवश्यक छ,”–उनले भने ।
पूर्व सभामुख ढुङ्गानाले भ्रष्टाचार राजनीतिक दलबाट बढिरहेको बताउँदै भ्रष्टाचार घटाउन राजनीतिक दल र जनप्रतिनिधी लाग्नुपर्ने उल्लेख गरे । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले मुलुकमा देखिने र नदेखिने भ्रष्टाचार बढ्दै गएको बताउँदै यसले लोकतन्त्रलाई खतरामा पर्न खोजेको धारणा राखे । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णीम वाग्लेले गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गरे । “नेपालमा भ्रष्टाचारलाई कारबाही गरीने कानुन फितलो हुँदा भ्रष्टाचार बढ्दै गएको छ,”–उनले भने । पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकमा निर्वाचन प्रणाली महङ्गो हुँदै गएको वताए । “निर्वाचन प्रणाली खर्चिलो हुँदै जाँदा भ्रष्टाचार पनि बढ्दै गयो,”–उनले भने । डा दधी अधिकारीले मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु जरुरी रहेको औल्याए । लोकतन्त्र बलियो भएमात्र मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्न सक्ने उनको भनाई छ । विस २०७२ कात्तिक २४ मा जन्मनुभएका नेता सिंहको आह्वानमा विस २०४६ सालको जनआन्दोलन सफल भई चैत २६ गते मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएको थियो ।