राप्रपा र राप्रपा (संयुक्त) बीच एकता औपचारिक घोषणा भने बुधबार

२५ फाल्गुन काठमाण्डौ ।  आम नेता कार्यकर्ताहरुको तीव्र दबाब पछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (संयुक्त) बीच एकता भएको छ ।

पार्टी एकता पत्रमा राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गर्नुभएको छ । पार्टी एकता पत्रमा शनिवार साँझ हस्ताक्षर भएपनि पार्टी एकताको औपचारिक घोषणा भने बुधबार हुने राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

एकीकरण पछि राप्रपाका ५५ र राप्रपा संयुक्तका ४५ गरी केन्द्रीय कार्य समिति निर्माण गर्ने सहमति भएको छ । पार्टी एकता पछि राप्रपामा थापा, राणा र लोहनी गरी तीन अध्यक्ष रहने छन् । यसअघि पार्टी एकतामा बाधक बनेको चुनाव चिन्हका बारेमा भने अहिले केही निर्णय भएको छैन । राप्रपाका प्रवक्ता पाठकका अनुसार चुनाव चिन्हबारे भने उपयुक्त समय र निकायबाट निर्णय गरिने सहमति भएको छ ।

आम नेता कार्यकर्ताको चाहना र भावना अनुसार पार्टी एकता भएकोमा आफूहरु हर्षित भएको राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गले बताए । यसैगरी राप्रपा संयुक्तका केन्द्रीय उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य राजाराम श्रेष्ठले भने, ‘मुल विषयमा यस अघि नै सहमति भइसकेको थियो । केही प्राविधिक कुरामा सहमति भएपछि पार्टी एकता भएको हो । यो हामी सवैको लागि खुशीको विषय हो ।’

यसैगरी राप्रपा संयुक्तका केन्द्रीय सदस्य होमभक्त कुरुम्वाङले आफूहरुको राय सल्लाह र माग अनुसार नै पार्टी एकता भएको उल्लेख गरे । राप्रपा संयुक्तका पुर्व सहमहामन्त्री समेत रहनु भएका कुरुम्वाङले भने ‘यो एकता आम नेता कार्यकर्ताको विजय हो ।’ राप्रपाका केन्द्रीय सदस्य निरञ्जन थापाले आफूहरुकै चाहना अनुसार पार्टी एकता भएकोमा खुशी व्यक्त गरे ।