जावलाखेललाई पराजित गदै सरस्वती चन्द्रागिरी गोल्डकपको फाइनलमा

काठमाडौं, २० बैशाख । ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्धन्द्धी ग्रान्डमास्टर जावलाखेललाई पराजित गर्दै सरस्वती युवा क्लब राजधानीमा जारी दोस्रो संस्करणको
चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेशगरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बिहीबार
भएको पहिलो सेमिफाइनलमा सरस्वतीले जावलाखेलमाथि १–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो । अब सरस्वतीले उपाधिका लागि शुक्रबार हुने एपीएफ र च्यासलबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

सरस्वतीको जितको आत्मघाती गोल नै निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा नै जावलाखेलका डिफेन्डर गौतम श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेका थिए । गौतम र गोलरक्षक अरुण तामाङबीच तालेमेल नमिल्दा गौतमको प्रहारले आफ्नै पोस्टको दिशा लिएको थियो । गौतमले ब्याकपास दिदा गोलरक्षक पोजिसन बाहिर रहेको थियो ।

सुरुमै पछि परेपछि जावलाखेलले सरस्वतीलाई दवावमा राखेपनि गोल गर्न भने सकेन । खेलको चौथो मिनेटमा ड्यानियल बेकेको प्रहार आकासियो ।

२१औं मिनेटमा गोलरक्षक अरुण तामाङले फालेको लामो पासलाई फोडे फोफानाले नियन्त्रणमा लिदै बक्सबाहिरबाट गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा बराबरीबाट चुक्यो ।

३६औं मिनेटमा टिना टिनाले गोल गरेपनि रेफ्रीले
अफसाइडको इसारा गरे । पहिलो हाफको इन्ज्युरी
समयमा कप्तान राजकुमार घिसिङको फ्रिकिक प्रहार पोस्टबाट थोरै बाहिरिदा अग्रता दोब्बर पार्ने मौका खेर गयो ।

दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि सफल भएन । ४९औं मिनेटमा अमित लामाको पासमा सुजित बुढाथोकीकोप्रहार जावलाखेलका गोलरक्षकलु मुस्किलले बचायो ।

५९औं मिनेटमा अमित लामाको फ्रिकिकलाई गोलरक्षकले पुन मुस्किलले जोगायो । ६३औं मिनेटमा सुजित बुढाथोकी वान भर्सेस वानको अवस्थामा चुके । ६४औं मिनेटमा ड्यानियलको प्रहार बाहिरियो । ७२औं मिनेटमा ड्यानियलको बक्सभित्रको प्रहार पोस्टमा लागेर फर्कदा जावलाखेल बराबरी र गोल गर्नबाट चुक्यो ।

त्यसपछि थप गोल निस्कन नसक्दा त्यही आत्मघाती गोल नै सरस्वतीलाई फाइनल पुग्न पर्याप्त बन्यो । सरस्वतीका ओको बोता खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया पाए ।

प्रतियोगितामा शुक्रबार विभागीय नेपाल एपीएफ क्लब र
भ्याली च्यासल युथ क्लबबीच दोस्रो सेमिफाइनल खेल
हुनेछ । खेल दिनको ठीक ३ः३० बजे नैकापस्थित नैकाप
फुटबल मैदानमा हुनेछ ।