• ट्रेण्डिङ :

कञ्चनपुर कारागार : राति सुत्न पालो कुर्नु पर्ने !

कञ्चनपुर कारागार : राति सुत्न पालो कुर्नु पर्ने !

cnewsnepal

सोमबार, साउन ११ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


कञ्चनपुर, ११ साउन : कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।

कारागारमा ९५ पुरुष  र २० महिला  कैदी  राख्ने क्षमता छ । अहिले कारागारमा  २२ महिला  र ३८८ पुरुषलाई राखिएको छ ।

पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ ।

राति सुत्नका लागिसमेत कैदीले पालो मिलाउँदै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीले अनिदो मै रात काट्नुपर्ने अवस्था छ ।

कारागारभित्र रहेका भवनमा छ  शौचालय र आठ  बस्ने कोठा छन् । शौचालय जानका लागि लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।

कैदीको सङ्ख्या अधिक हँुदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको जेलर मायाकुमारी बस्नेत थापाले जानकारीदिनुभयो ।

“कारागारको क्षमता भन्दा कैदीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ” उहाँले भन्नुभयो, “सबै भवन पुराना छन् । वर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीलाई राख्नु परेको छ ।”

वर्षौ पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनवाइ हुन नसकेको जेलर थापाले जानकारी दिनुभयो ।

“कोरोनाको सङ्क्रमण बढ्ने खतरा छ” उहाँले भन्नुभयो, “सङ्ख्या अधिक भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्ण रुपमापालना गर्न सकिएको छैन ।”

जोखिम  भए पनि कैदीबन्दी कर्मचारी र सुरक्षाकर्मीमा भने अहिले सङ्क्रमण देखिएको छैन । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी,, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

कारागारमा सबै भन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक  छन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको जानकारी दिनुभयो ।

“तत्कालै कारागारमा रहेका कैदीलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो, “त्यो समेत हुनसकेको छैन । सम्बन्धित ठाउँमा अवस्थाबारे जानकारी दिने हो । यसबाहेक यहाँबाट केही गर्न सकिदैन ।”

उहाँले प्रदेशको सामाजिक विकास र आन्तरिक मामिला मन्त्रालयलाई नयाँ भवनका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार