काठमाडौं । गण्डकी प्रदेशसभाअन्तर्गत राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन् ।
मंगलबार बसेको जनमोर्चा संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको महासचिव मनोज भट्टले जानकारी दिएका हुन् ।
नयाँ सरकार गठन गर्ने बेला पार्टीको निर्देशनअनुसार उनले प्रभावकारी भूमिका खेलेकी थिइन् ।
तीन जना सांसद रहेको राजमो प्रदेश सभामा यसअघि संसदीय दलको नेता रहेका कृष्ण थापाले तत्कालिन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध गठबन्धनको तर्फबाट ल्याइएको अविश्वासको प्रस्तावमा मतदान गर्न पार्टीले दिएको निर्देशन उल्लंघन गरेपछि पार्टीले कारबाही गरेको थियो ।
पद थमौतीको माग गर्दै सर्वाेच्च गएका थापाको माग सर्वाेच्चले अस्वीकार गरिदिएको छ ।
सुब्बाको सरकार हटाएर नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रिय जनमोर्चा सरकारमा भने सहभागी भएको छैन । सरकार बाहिरैबाट गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
कृष्ण थापालाई कारबाही गरेपछि प्रमुख सचेतक रहेकी पियारीले संसदीय दलको नेताका हैसियतमा काम गर्दै आएकी थिईन । यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खिमविक्रम शाहीलाई दिइएको छ । शाही प्रदेश मामिला सभापति समेत हुन् ।
प्रदेश सरकारले राजनीतिक नियुक्ति दिने निकायमा दलको तर्फबाट पहल गर्ने निर्णय पनि भएको छ । गण्डकी सरकारले साना दललाई समेत सुविधा दिनेगरी दोहोरो थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । यसअघि गण्डकीमा दलको मान्यता पाउन १० प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने बाध्यकारी व्यवस्था राखिएको थियो ।
अहिलेको नेपालको संविधानअनुसार साढे १ प्रतिशत थ्रेस होल्ड कटाएका दललाई सुविधा दिने निर्णय भएको छ ।
राजमो गण्डकी प्रदेश समितिको बैठकले प्रदेशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । महासचिव भट्टले अनुसार यही साउन २५ गते प्रदेशस्तरमा भर्चुअल प्रशिक्षण आयोजना गरिएको छ भने २६ गते कास्की जिल्लाको प्रत्यक्ष उपस्थितीमा प्रशिक्षणको आयोजना हुने छ ।
भदौ महिनाभर प्रदेशका सबै जिल्लाहरूको प्रशिक्षण सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी प्रदेश अध्यक्ष शंकर बराल, खिमविक्रम शाही र रवीमोहन ढकाल रहेको राजमो प्रदेश कार्यालय गठन गरिएको छ ।
राजमो केन्द्रीय कार्यालयले सातै प्रदेश समिति पुनर्गठन गरेपछि मंगलबार महासचिव भट्टको उपस्थितीमा समितिको बैठक पहिलो पटक बसेको थियाे ।