काठमाडौं । पार्टीको कारवाहीमा परेका सांसदहरुलाई निर्वाचन आयोगले नयाँ दल दर्ताका क्रममा हस्ताक्षर सनाखतमा मान्यता दिएपछि आयोगको कदमविरुद्ध कानुनी उपचारका लागि नेकपा एमाले सर्वाेच्च अदालतमा जाने भएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कारवाही गरिएको सांसदहरुको नयाँ दल दर्ताका क्रममा सनाखतलाई मान्यता दिएपछि आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।
हाल सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव एवंहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए ।
उनका अनुसार आइतबार नै अदालत जाने भनिए पनि बैठकका कारण असम्भव भयो । बिहीबार बसेको बैठकको निर्णयबमोजिम कानूनी उपचारका लागि अदालत जान लागिएको उनको भनाइ छ ।
एमालेबाट छुट्टिएर माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) आयोगमा दर्ता गरेर दलको मान्यता प्राप्त गरिसकेको छ । एमालेबाट नेपालसहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरु नेकपा (ए.स.) मा गएका छन् ।
यसअघि भदौ १ मा पार्टी विभाजनतिर उन्मुख भएको भन्दै एमालेले नेपालसहित १४ जना सांसदलाई पदमुक्तको निर्णय गरेको थियो । तर, तिनै कारवाही गरेका सांसदसहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको हस्ताक्षर आयोगले सनाखत गरेको भन्दै एमाले अदालतमा जान लागेको सचिव तामाङले बताए