खरखाँचो टार्न, उद्यम व्यवसाय गर्न, घरजग्गा जोड्न पनि आफूसँग भएको पुँजी कम हुँदा ऋण लिनुपर्ने हुन्छ । पहिले पहिले ऋण लिने एकमात्र स्रोत साहु महाजन हुन्थे तर अहिले समय बदलिएको छ । आफूसँग धितो राख्ने सम्पत्ति र ब्याज तिर्न सक्ने आम्दानी छ भने बैंकहरुले सजिलै ऋण दिन्छन् । तर त्यसका लागि बैंकले विश्वास गर्ने खालको धितो हुनु आवश्यक छ ।
बैंकहरुले सुनचाँदी, सरकारी सुरक्षण पत्रहरु, मुद्दती रसिद, डेबिट कार्ड-क्रेडिट कार्ड तथा विभिन्न खालको सम्पत्ति धितो राखेर कर्जा प्रवाह गर्छन् । यीमध्ये सम्पत्ति धितोमा बैंकहरुले सबैभन्दा बढी कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ । सम्पत्तिअन्तर्गत स्थिर र चालु गरी दुई किसिमको सम्पत्ति हुन्छ ।
स्थिर सम्पत्तिमा घरजग्गा, मेशिनरी तथा उपकरण, फर्निचर तथा फिक्सचर, सवारी साधनलगायतका धितोवापत राखिन्छ । यस्तै चालु सम्पत्तिअन्तर्गत कृषि पैदावार, धान चामल, सन पार्ट र अन्य कृषि पैदावारमा कच्चा पदार्थ, अर्ध तयारी बस्तु, नून, चिनी, घ्यू, तेल, कपडालगायतका वस्तुको धितोमा बैंकले कर्जा दिएका छन् ।
बैंक तथा वित्ती संस्थाले सबैभन्दा बढी कर्जा सम्पत्ति धितो राखेर प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको गत जेठसम्मको तथ्यांकअनुसार कूल कर्जाको ८७.६६ प्रतिशत कर्जा सम्पत्ति धितोमा दिइएको छ । सम्पत्तिभित्र पनि घरजग्गाको हिस्सा सबैभन्दा बढी छ। कुल कर्जाको ६६ प्रतिशत अर्थात २६ खर्ब ८९ अर्ब रुपैयाँबराबरको कर्जा घरजग्गा धितो राखेर उपलब्ध गराइएको छ ।
गत जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमार्फत ४० खर्ब ९५ अर्ब १५ करोड ४० लाख रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ । यसमध्ये ३५ खर्ब ८९ अर्ब ९९ करोड ९० लाख रुपैयाँ कर्जा सम्पत्ति धितो राखेर प्रवाह भएको छ ।
यसरी तथ्यांक हेर्दा समग्रमा बैंकहरूले घरजग्गाको धितो हुँदा मात्रै ऋणीलाई पत्याएको देखिन्छ । बैंकहरूले धितो मात्रै नहेरी नियमित आम्दानीको स्रोत पनि खोज्छन् । ऋण लिने व्यक्ति वा संस्थासँग ब्याज तिर्नलाई नियमित आम्दानीको स्रात छ भने बैंकहरुले घरजग्गाको मूल्यांकन रकम ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएका छन् ।