• ट्रेण्डिङ :

गाैशालाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन दिन-रात खटिँदै इन्स्पेक्टर बिरेन्द्र रायमाझी: विद्यार्थी र चालक लक्षित सचेतना अभियान तीव्र

गाैशालाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन दिन-रात खटिँदै इन्स्पेक्टर बिरेन्द्र रायमाझी: विद्यार्थी र चालक लक्षित सचेतना अभियान तीव्र

cnewsnepal

शुक्रबार, भाद्र १२ २०८३
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौँ – काठमाडौँ उपत्यकाकै प्रमुख र व्यस्त नाकाको रूपमा रहेको गौशाला क्षेत्रको ट्राफिक व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरी प्रभाग गौशालाले आफ्नो सक्रियता बढाएको छ। प्रभागका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिरेन्द्र रायमाझीको कमाण्डमा ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ का लागि विशेष अभियान सञ्चालन भइरहेको छ।

​इन्स्पेक्टर रायमाझी दिन–रात सडकमै खटिएर सवारी प्रवाहको अनुगमन गर्ने र देखिएका समस्याको तत्काल समाधानमा लागिपरेका छन्। गौशाला र आसपासका क्षेत्रमा हुने अत्यधिक सवारी चापलाई व्यवस्थापन गरी सडक दुर्घटना न्यूनीकरण गर्नु प्रभागको मुख्य प्राथमिकता रहेको छ।

​विद्यालयस्तरमै ट्राफिक सचेतना

​दुर्घटना न्यूनीकरणका लागि ‘कारबाही मात्र नभई चेतना पनि आवश्यक’ भन्ने मान्यताका साथ गौशाला ट्राफिकले स्थानीय विद्यालयहरूमा ‘सडक सुरक्षा र ट्राफिक नियम सचेतना’ कार्यक्रम तीव्र पारेको छ। ‘हाम्रो उद्देश्य विद्यार्थीहरूलाई सानै उमेरदेखि सडक नियमप्रति जिम्मेवार बनाउनु हो,’ इन्स्पेक्टर रायमाझीले भने। कार्यक्रममा विद्यार्थीहरूलाई सडक पार गर्ने सही तरिका, ट्राफिक सङ्केतको ज्ञान र सडक अनुशासनबारे जानकारी दिने गरिएको छ।

​‘एक मिनेट’ अभियान: सवारी चालक र यात्रुसँग प्रत्यक्ष संवाद

​गौशाला ट्राफिकले सडकमा गुड्ने सवारी साधनलाई एक मिनेट रोकेर चालक, सहचालक र यात्रुहरूसँग प्रत्यक्ष संवाद गर्ने ‘एक मिनेट’ अभियान चलाएको छ। यस अभियानअन्तर्गत यात्रुहरूका गुनासा (बढी भाडा असुली, पाकेटमारी, दुर्व्यवहार) सुन्ने गरिएको छ।

साथै, चालकहरूलाई उनीहरूको जिम्मेवारी, सहचालकहरूले यात्रुप्रति गर्नुपर्ने शिष्ट व्यवहार र सडक नियमको पालनाबारे तत्कालै सम्झाई–बुझाई गर्ने गरिएको छ।

​कडा कारबाहीको चेतावनी: जथाभाबी यात्रु हाल्ने र ओराल्नेलाई छूट छैन

​उपत्यका बाहिर जाने तथा भित्रिने मुख्य सडकमा अरू सवारी साधनलाई अवरोध पुर्‍याउने गरी जथाभाबी यात्रु हाल्ने वा ओराल्ने सवारी साधनप्रति प्रहरी कडा बनेको छ। यस्तो लापरवाहीले ट्राफिक जाम र दुर्घटनाको जोखिम बढाउने भन्दै इन्स्पेक्टर रायमाझीले चेतावनी दिएका छन्।

​प्रहरी प्रमुख बिरेन्द्र रायमाझीले भने, “सडक सबैको साझा हो। कसैको लापरवाहीले अरूलाई सास्ती हुनु हुँदैन। उपत्यका बाहिर जाने गाडीहरूले मुख्य सडकमा अरूलाई अवरोध पुर्‍याउने गरी यात्रु हाले वा ओरालेको पाइएमा हामी कडा भन्दा कडा कारबाही गर्नेछौँ। गौशाला क्षेत्रको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ।”

​ट्राफिक प्रहरीको यस शैक्षिक र सुधारात्मक अभियानले गौशाला क्षेत्रको सवारी प्रवाहमा क्रमिक सुधार आउनुको साथै यात्रुहरूले सुरक्षित महसुस गर्न थालेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार