काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को दशौँ एनआरएन ग्लोबल सम्मेलन र साधारण सभा आगामी २०७८ कात्तिक ६–८ गते तदनुसार अक्टोबर २३–२५, २०२१ का दिन हुने भएको छ ।
शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो निर्णय गरेकोे हो । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।
अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो ।
त्यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए।
बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउन्डेसन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ ।
बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।