बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट एकताको अभियानमा केपी शर्मा ओली बाधक बनेको बताएका छन् । तत्कालीन नेकपामा पुर्व एमालेका क्रान्तिकारी शक्ति समेतले क्रान्तिकारी एजेन्डा मन पराएर माओवादी एजेन्डा हावी हुने देखेपछि प्रतिक्रियावादीहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई अगाडि सारेको र ओली प्रतिगमन र प्रतिक्रियावादीका गोटी बनेको प्रचण्डको भनाई छ ।
सोमबार लुम्बिनी प्रदेशका अगुवा नेता कार्यकर्ताहरूको राजनैतिक प्रशिक्षणलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी र एमालेको एकता गलत नभएको उल्लेख गरे । ‘एकता गलत थिएन, तर ओली जस्ता गलत मान्छेले उक्त एकतालाई दुषित र असफल बनाए’ – प्रचण्डले भने ।
सम्बोधनमा नेता कार्यकर्तालाई उत्प्रेरित गर्दै प्रचण्डले पार्टी पुनर्निर्माणको अभियान सुरुभएको बताए । माओवादी केन्द्र अरुभन्दा फरक र क्रान्तिकारी दल बन्न नसकेको तर्फ संकेत गर्दै प्रचण्डले यदि त्यसो हुन सकेन भने पार्टीको औचित्य पुष्टि नहुने र पार्टी विघटनको दिशामा जाने बताए ।
विश्व इतिहासमा उक्त प्रकारले कम्युनिस्ट पार्टी विघटन भएको स्मरण गर्दै प्रचण्डले जनताले ठुलो योगदान गरेर निर्माण गरेको दल विघटनको दिशातिर गए देशमा प्रतिक्रान्ती हुने बताए ।
लुम्बिनी प्रदेशका सबै जिल्लाका अगुवा कार्यकर्तालाई एक साथ सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षताजस्ता उपलब्धी खतरामा रहेको बताउँदै उल्लेखित उपलब्धिको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पुर्णसमानुपातिक निर्वाचन प्रणाली लगायतका एजेन्डाका लागि संघर्षको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।
पुर्ण समानुपातिक निर्वाचनले पैसा बिनै चुनाव लड्ने अवस्था ल्याउने हुनाले भ्रष्टाचार रोक्न समेत मदत गर्ने उल्लेख गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले जनउत्तरदायी सरकार निर्माण हुने बताए ।