• ट्रेण्डिङ :

ऐतिहासिक सफलता: फ्रान्सका पूर्व विश्व च्याम्पियनलाई नकआउट गर्दै नेपाली बक्सर अविरल बने विश्व च्याम्पियन

ऐतिहासिक सफलता: फ्रान्सका पूर्व विश्व च्याम्पियनलाई नकआउट गर्दै नेपाली बक्सर अविरल बने विश्व च्याम्पियन

cnewsnepal

शनिबार, भाद्र २० २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ। अन्तर्राष्ट्रिय किक बक्सिङको रिङमा नेपाली झण्डा फहराउँदै युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक इतिहास रचेका छन्। जापानको नागोया सहरस्थित करिया हलमा आयोजित बहुचर्चित ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत ‘अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ’ (ISKA) विश्व च्याम्पियनसिपको मेन इभेन्टमा फ्रान्सेली प्रतिस्पर्धीलाई पराजित गर्दै उनी विश्व च्याम्पियन बनेका हुन्।

दोस्रो राउन्डमै प्रतिद्वन्द्वी धराशायी

​त्यस भिडन्तमा अविरलले सन् २०२५ का ISKA विश्व च्याम्पियन, फ्रान्सका सशक्त बक्सर माथन चोइनार्डको सामना गरेका थिए। खेलको सुरुवाती समयदेखि नै आक्रामक शैली अपनाएका अविरलले दोस्रो राउन्डको दोस्रो मिनेटमा विपक्षीमाथि कडा र सटीक मुक्का प्रहार गरे। अविरलको शक्तिशाली प्रहारपछि सम्हालिन नसकेका चोइनार्ड रिङमै ढलेपछि रेफ्रीले अविरललाई नकआउटका आधारमा विजेता घोषित गरे।

रेकर्डै रेकर्डको यात्रा: २१ जितमा २० नकआउट

​अविरल घिमिरेको यो जित केवल एउटा उपाधिमा सीमित छैन; यसले अन्तर्राष्ट्रिय बक्सिङमा उनको अपराजित प्रभुत्वलाई थप बलियो बनाएको छ। हालसम्म २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका अविरलले २१ खेलमा सानदार जित हासिल गरेका छन्। सबैभन्दा रोचक तथ्य त के छ भने, उनका २१ जितमध्ये २० वटा जित प्रतिद्वन्द्वीलाई नकआउट गरेर प्राप्त भएका हुन्। यस्तो दुर्लभ कीर्तिमान बनाउने उनी पहिलो र एकमात्र नेपाली किक बक्सर हुन्।

जितपछि बाढीपीडितलाई सहयोगको घोषणा

​खेल जितेलगत्तै रिङबाटै खुसी व्यक्त गर्दै अविरलले देशप्रतिको उत्तरदायित्व बिर्सेनन्। उनले हालै रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उक्त प्राकृतिक विपत्तिमा परेका पीडितहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “यो जित सम्पूर्ण नेपालीको हो। मलाई यहाँसम्म पुर्‍याउन साथ, समर्थन र प्रार्थना गर्ने सम्पूर्ण समर्थकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

​‘हिमालयन चितुवा’ का रूपमा परिचित अविरलको यो अभूतपूर्व सफलताले अन्तर्राष्ट्रिय खेलकुदको मञ्चमा नेपालको पहिचान, साहस र शानलाई नयाँ उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार