• ट्रेण्डिङ :

कांग्रेस महाधिवेशन निर्धारित मितिमा हुने

कांग्रेस महाधिवेशन निर्धारित मितिमा हुने

cnewsnepal

बिहिबार, मंसिर २ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौं, २ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमा हुने निश्चित भएको छ ।

केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन मुल आयोजक समिति र त्यस मातहतमा अन्य समितिहरू बनाइसकेको छ । मातहतका अधिवेशनहरू निरन्तर भइरहेका छन् ।

वडा अधिवेशन हुन बाँकी जिल्लाहरुमा धमाधम अधिवेशन भइरहेका केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

वडा अधिवेशन हुन बाँकी दुई जिल्ला पर्सा र सर्लाहीमा आज अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

अन्य सबै जिल्लामा पालिका अधिवेशनसम्म सम्पन्न भए पनि प्रदेश २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन भएको थिएन ।

यही सातामा कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँके तथा प्रदेश २ का बारा, पर्सा, सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा वडा अधिवेशन भइरहेको हो ।

अब वडा अधिवेशनको प्रक्रिया सुरु हुन कुनै पनि जिल्ला बाँकी नरहेको सदस्य घिमिरेले जानकारी दिए ।

‘सबै जिल्लामा वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ, प्रक्रिया सुरु हुन बाँकी कुनै जिल्ला छैन,’ सदस्य घिमिरेले भने ।

रौतहट जिल्लाको एउटा वडा र सिन्धुपाल्चोकका तीन वडामा विवादका कारण वडा अधिवेशन हुन सक्ने अवस्था हुन नसकिरहेको उनले जानकारी दिए ।

उनका अनुसार आज पर्सा, बारा, सर्लाहीमा अधिवेशन भइरहेको छ । सर्लाहीमा पहिलो पटक पठाइएका निर्वाचन अधिकृत भागेपछि नयाँ अधिकृत पठाइएको थियो ।

नयाँ अधिकृत गएर पनि आज अधिवेशन गरिरहेका छन् । सिन्धुपाल्चोकमा भने पालिका अधिवेशन हुने अवस्था नदेखिएको निर्वाचन समितिले जनाएको छ ।

जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामाबीचको विवादका कारण त्यहाँ पालिका अधिवेशन हुने अवस्था निर्माण गर्न कठिनाइ भइरहेको समितिले जनाएको छ ।

अब भने तोकिएको मितिमा महाधिवेशन हुने निश्चित भएको भन्न सकिने निर्वाचन समितिका सदस्य घिमिरेले बताए ।

‘अहिलेको अधिवेशनको सक्रियता र जिल्ला जिल्लाको माहोल हेर्दा अहिले तोकिएको मितिमा भने महाधिवेशन हुने अवस्था निर्माण भएको छ ।

अब हामी महाधिवेशन तोकिएकै मितिमा हुन्छ भन्न सक्ने अवस्थामा पुगेका छौँ,’ सदस्य घिमिरेले भने ।

कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशनको मिति निर्धारण गरेको छ ।

त्यसअघि कांग्रेसले मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन र १६ र १७ गते प्रदेश अधिवेशनको मिति निर्धारण गरेको छ । अभियान टाइम्सका साथमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार