काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेसनका लागि काभ्रे क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ तर्फ युवा नेता तथा सञ्चारकर्मी रोशनराज पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन्।
समाजसेवी समेत रहेका पाण्डेलाई प्रदेश सभापति पदमा उमेद्वारका रुपमा नेपाली कांग्रेस काभ्रेले अघि सारेको हो। पार्टीलाई बलियो र दरिलो बनाउनको लागि आफूले प्रदेश ‘ख’ को सभापतिमा उम्मेद्वारी दिएको पाण्डे बताउँछन्।
प्रदेश सभापतिका लागि उम्मेद्वार घोषणा लगत्तै सभापतिका उम्मेद्वार पाण्डेले गुट उपगुटबाट अक्रान्त बनेको काभ्रे कांग्रेसलाई एक ढिक्का बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए।
केन्द्रमा देखिएको देउवा वा पौडेल कुनै गुटको नभई जिल्लाको आवश्यकताका आधारमा सभापतिमा उम्मेद्वारी दिएको बताउँदै पाण्डेले सभापति हुँदा एकात्मक सोचको अन्त्य गरि संघ, संगठन र कार्यकर्तालाई व्यवस्थित बनाउने दाबी गरे।
उनले अबको कांग्रेस विकास, समृद्धिसँगै सेवामा अग्रसर हुने पार्टी बन्नुपर्ने बताए। त्यस्तै उनले सभापति पदमा आफूलाई अघि बढाएकोमा कृतज्ञ व्यक्त गर्दै सर्वसम्मत सभापति हुनेमा पनि विश्वस्त रहेको समेत सुनाए।