काठमाडौं, २८ साउन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि परिवर्तन हुने भएको छ । प्रमुख सत्तारुढ दलसमेत रहेको कांग्रेसले महाधिवेशनको प्रक्रिया भदौमा सुरु गरेर मंसिरमा सम्पन्न गर्ने तयारी थालेको छ ।
त्यही अनुरुपको कार्यतालिकासहित मितिबारे छलफल गरेर निर्णय गर्न प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार (आज) केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
भदौभित्र प्रक्रिया थालेर असोज र कार्तिकमा सबै तहका अधिवेशन सक्ने गरी कार्यतालिका ल्याउने तयारी कांग्रेसको संस्थापनको छ ।
तर, त्यस रणनीतिमा नेता रामचन्द्र पौडेल समूहले सहमति जनाइसकेको छैन । संस्थापन पक्षभने मङ्सिर अन्त्यमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तन्क्याउने तयारीमा जुटिसकेको छ ।
अहिले कांग्रेसको १४औं महाधिवेशन १६ देखि १९ भदौसम्म तोकिएको छ । त्यसअन्र्तगत तय भएका कार्यतालिका घर्किएका छन् । क्रियाशील सदस्यताको विवाद नमिलेकाले महाधिवेशन नहुने निश्चित छ ।
देउवाले महाधिवेशनको मुख्य काम क्रियाशील सदस्यताको विवाद अझै मिल्न नसकेको, पार्टी समायोजनका काम नसकिएको, निर्वाचन निर्देशिका नबनेको भन्दै सार्ने तयारी गरेका छन् ।
महाधिवेशन सार्ने विषयले कांग्रेसभित्र किचलोसमेत बढ्दै गएको छ । संस्थापन पक्षको महाधिवेशन समयमा नगराउने रणनीति बुझेपछि रामचन्द्र पौडेल समूह सभापति देउवामाथि दबाब बढाउन लागि परिरहेको छ ।
सदस्यताका विवाद मिलाउनका लागि सदस्यता छानबिन समितिले प्रयास गरे पनि पार्टी कार्यालयमा भएका धर्ना र अनसनलाई कारण देखाउँदै समितिले विवादलाई थाँती राखेर शीर्ष नेतृत्वलाई सदस्यताको प्रतिवेदन जिम्मा लगाइसकेको छ ।
संस्थापन पक्ष अब महाधिवेशनको मिति सारेर प्रक्रिया मात्रै सुरु गर्ने तयारीमा छ । सभापति देउवा निकटका नेताहरू त्यसका लागि अग्रसर भइसकेका छन् ।
देउवा निकट नेता मीन विश्वकर्माले अब तोकिएको समयमा महाधिवेशन हुन सक्ने अवस्था नरहेकाले महाधिवेशनको प्रक्रियालाई भने सुरु गर्ने प्रयास भइरहेको जानकारी दिए ।
भदौमा महाधिवेशनका लागि तोकिएको मितिमा तल्ला तहका अधिवेशन शुरु गर्ने तयारी भइरहेको छ । तर कहिलेबाट शुरु गर्ने भन्नेबारे भने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिने विश्वकर्माले जानकारी दिए ।
कांग्रेसभित्रको संस्थापन इतरको पौडेल समूह भने २३ भदौपछि पार्टीको वैधानिकता सकिने भन्दै कुनै हालतमा सो मिति भित्रैमा महाधिवेशन गरेर पार्टीको वैधानिक अस्तित्व जोगाउनु बताइरहेको छ । पौडेल पक्षका जिल्ला सभापतिहरूले राजधानी काठमाडौं आएरै पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाइरहेका छन् ।
महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगंजमा पौडेल समूहका केन्द्रीय सदस्यहरूको बैठकले अधिवेशनका कार्य तालिकालाई छोट्याएर भए पनि संविधान अनुसारको वैधानिकता कायम हुने मिति २३ भदौ भित्रमा नै पार्टीका सबै तहका अधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्न दबाब दिने गरिरहेको छ ।
कांग्रेस वरिष्ठ नेता पौडेलले कुनै हालतमा २३ भदौ भित्र नै महाधिवेशन हुनै पर्नेमा आफूहरूको जोड रहेको बताए । कांग्रेसले २८ साउनका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सो बैठकले महाधिवेशन बारे थप निर्णय गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेस पार्टी विधान अनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । जसअनुसार फागुन २०७६ मा नै कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो ।
तर, विधानले दिएको एक वर्षको सुविधा प्रयोग गर्दै ७–१० फागुन २०७७ सम्म महाधिवेशनको समय तोकिएको थियो । सो मितिसमेत कोरोना महामारीसँगै पार्टीको साङ्गठनिक समायोजनको काम बाँकी रहँदा टरेको थियो ।
कांग्रेसले त्यसपछि संविधानको सहारा लिँदै महाधिवेशन कार्य तालिका संशोधन गरेर ६ महिना थप गरेको थियो । संविधानमा विशेष परिस्थितिमा ६ महिना थपको सुविधा दलहरूलाई दिएको छ । कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन र पार्टीको वैधानिकताबारे कांग्रेसले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरिसकेको छ ।
केही दिनअघि सरकारका कानुनमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता रामहरी खतिवडासहितले आयोग पदाधिकारीसँग कांग्रेसलाई समयमा महाधिवेशन नहुँदा पर्ने असहज अवस्थाका बारेमा छलफल गरेका थिए । कोरोना कालको यो अवधिलाई शून्य अवधि मान्न सकिने भन्दै कांग्रेसलाई निर्वाचन आयोगले ग्रीन सिग्नल दिएको हो ।
स्रोतका अनुसार कांग्रेसले निर्वाचन आयोगबाट भदौ भित्र महाधिवेशनको प्रक्रिया शुरु गर्न ग्रीन सिग्नल पाइसकेको छ । यसरी अघि बढ्न एउटा पत्र दलका तर्फबाट आयोगमा पठाउन कांग्रेसलाई आयोगले सुझाएको छ । अभियान टाइम्सका साथमा ।