पर्वत । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडक खण्डमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल बोकेर फलेवास नगरपालिकातर्फ जाँदै गरेको ग१ज ८०२९ नम्बरको जीप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ३५ वर्षीय चालक सज्जन परियार गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार घाइते परियारको उद्धार गरी प्रदेश अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रहरीका अनुसार वर्षाका कारण उकालो सडक चिप्लो भएका कारण जीप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।