२८ बैशाख,काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी नदीको दोहन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै केसीले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी नदीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने कार्य जारी रहेको बताएका छन्।
उनले सरकारलाई रमिते बनेको आरोप लगाउँदै दोहन नरोकिए कालीगण्डकी कोरिडोर भासिने चेतावनी समेत दिए।
केसीले यसबारे अघिल्लो पटक पनि कुरा उठाएको स्मरण गराउँदै भने, ‘कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भइराखेको छ कि, जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेकोझिक्यै, त्यहाँ केही लाग्दैलागेन, सरकार रमिते भएर हेरिराख्या छ। यदि त्यो बालुवा गिट्टी उत्खनन रोक्ने होइन भने त्यो कालीगण्डकी कोरिडोरको बाटो समेत भासिने स्थिति छ।’