काठमाडौँ । सत्ता गठबन्धनको विरुद्ध आवाज उठाएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीको गाडीसुविधा फिर्ता लगिएको छ ।
२०८० चैत ४ गते आइतबार उहाँको गाडी फिर्ता लगिएको हो ।
अध्यक्ष केसीका अनुसार करिब छ महिनाअघि उहाँलाई संसद् आउनजानका लागि गाडी दिइएको थियो ।
‘मलाई गाडी दिएपछि केसीले तिमीहरूका नराम्रा कामको विरोध गर्ने छैन भन्ने सोचेका हौला भनेर मैले उति बेलै भनेको थिएँ’ करिब छ महिनाअघिको घटना स्मरण गरी प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै अध्यक्ष केसीले भन्नुभयो– ‘त्यति बेला प्रचण्डले भनेका थिए, मैले तपाईंलाई चिनेको छै्रन ? सिङ्गै नेपाल दिए पनि तपाईंले आफ्ना कुरा भन्न छोड्नुहुन्न ।’
प्रतिगमन विरोधी गठबन्धनको बैठकमा उक्त विषय उठेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो बेलामा गठबन्धनका अन्य शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो ।
अध्यक्ष केसीले आफूले सरकारी सुविधा कहिलेकाहिँ मात्रै प्रयोग गरेको र यसपालि पनि गाडी सुविधा आफूले नमागेको प्रष्ट पार्नुभयो ।
‘एकपटक लेखा समितिको सभापति हुँदा र उपप्रधानमन्त्री छँदा मैले गाडीसुविधा प्रयोग गरेको थिएँ’ उहाँले भन्नुभयो–‘२०७९ मङ्सिर ४ गतेको चुनावपछि संसद्को मस्यौदा नियमावली बनाउने संसद्कै ज्येष्ठ सांसद भएकाले मलाई गाडी दिइएको थियो तर मैलै कहिल्यै गाडीसुविधाको माग गरेको थिएनँ ।’
केसीले केही विस्तारमा भन्नुभयो– ‘मस्यौदा संसद् नियमावली संसदीय समितिबाट पारित भएपछि मैले गाडी फर्काउन खोजेको थिएँ । समितिकै सांसदहरूले यहाँबाट मात्रै होइन, संसद्बाट पनि यो नियमावली पारित हुनुपर्यो । त्यसपछि गाडी बुझाउनुहोला भने । त्यसरी आजसम्म मलाई दिइएको गाडीसुविधा यथावत् थियो ।’
अध्यक्ष केसीले आफूले अल्पसमयका लागि पाएको गाडीको दुरुपयोग नगरेको दाबी गर्नुभयो ।
‘मैले मुख्यत: संसद् जानआउनका लागि मात्रै उक्त गाडी प्रयोग गरेको थिएँ’ उहाँले भन्नुभयो– ‘मलाई मिडियाले बोलाइरहन्छन् । त्यति बेला पनि मैले कहिल्यै उक्त गाडीसुविधा प्रयोग गरिनँ ।’
अध्यक्ष केसीसँग पुछ्रे प्रश्न गर्यो– तपाईंको गाडीसुविधा किन खोसियो होला भन्ने लाग्छ ?
उहाँको जवाफ थियो– ‘गाडीसुविधा दिएपछि सत्ता गठबन्धनका कर्तुतबारे म बोल्दिनँ कि भनेर उनीहरूले सोचेका होलान् तर मैले त्यसो गरिनँ । खासगरी फागुन ३० गते र त्यसपछि मैले संसद्मा जोडदार कुरा राखेपछि उनीहरूले मेरो गाडीसुविधा फिर्ता लिए ।’