काठमाडौं, चन्द्रागिरि । “साना साना बालबालिकामा चन्द्रागिरि ब्याडमिन्टन क्लबको ध्यान, कुशल खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ चन्द्रागिरि नगरस्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को आयोजना हुन लागेको छ।
चन्द्रागिरि नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूसँगै नगर क्षेत्रमा बसोबास गर्ने अन्य बालबालिका समेत सहभागी हुन सक्ने गरी प्रतियोगिता खुला गरिएको आयोजकले जनाएको छ।
२०८२ जेष्ठ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता चन्द्रागिरि–७, काठमाडौंस्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा हुने छ। बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खेल संचालन हुनेछ।
विद्यालयका लागि दर्ता शुल्क रु. १५ सय र अन्य स्वतन्त्र खेलाडीका लागि रु. २ सय तोकिएको छ। अन्तिम नाम दर्ताको म्याद २०८२ जेष्ठ १० गते बेलुका ३ बजेसम्म कायम गरिएको छ।
प्रतियोगितामा अण्डर -१२ तथा अण्डर -१५ उमेर समूहका बालक तथा बालिकाहरूको एकल स्पर्धा (सिङ्गल) समावेश गरिएको छ।
विद्यालयहरूले प्रत्येक विधामा दुई जना खेलाडी राखी अधिकतम ८ जना सम्म सहभागी गराउन सक्नेछन्।
चन्द्रागिरि ब्याडमिन्टन क्लबका अध्यक्ष राजकुमार पाेखरेलले भने,
“बाल्यकालदेखि नै खेलमा सक्रिय बनाउँदा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास हुन्छ। यही सोचका साथ चन्द्रागिरि नगरका बालबालिकालाई ब्याडमिन्टन खेलमार्फत सही दिशा दिन यो प्रतियोगिता आयोजना गरेका हौं,”
खेलहरू Yonex Mavis ३५० Shuttlecock मार्फत खेलाइनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
सह अायाेजक महांकल कभर्ड हल रहनेछन् भने प्याब्सन चन्द्रागिरि, धौलागिरी ब्याडमिन्टन क्लब,युनाइटेड स्पोर्ट्स क्लबले सहकार्य गर्ने छन् । प्रतियोगिताकाे संयोजन धर्मराज घिमिरे र सचिवमा हरि प्रसाद शर्मा रहनेछन् ।
