• ट्रेण्डिङ :

चन्द्रागिरिमा नगरस्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, २३ विद्यालयका १९० विद्यार्थीको सहभागिता

चन्द्रागिरिमा नगरस्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, २३ विद्यालयका १९० विद्यार्थीको सहभागिता

cnewsnepal

बुधबार, जेष्ठ १४ २०८२
पढ्न लाग्ने समय: < ४ मिनेट


 

पूर्वमन्त्री रमा आलेमगरले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिन प्रतिबद्धता जनाइन्, सभापति पोखरेलले निरन्तरताको अपेक्षा व्यक्त गरे

१४ जेठ,काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा तीन दिनसम्म चलेको नगरस्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।

चन्द्रागिरि ब्याडमिन्टन क्लबको आयोजना र महांकाल ब्याडमिन्टन कभर्ड हलको सह-आयोजनामा जेठ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका २३ निजी तथा सामुदायिक विद्यालयका १९० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा ११९ जना छात्र र ७१ जना छात्राको सहभागीता रहेको आयोजकले जनाएको छ। महांकाल ब्याडमिन्टन कभर्ड हल, वडा नं. ७, चन्द्रागिरिमा सम्पन्न उक्त प्रतियोगिता प्याब्सन चन्द्रागिरि, धौलागिरी ब्याडमिन्टन क्लब तथा युनाइटेड स्पोर्ट्स क्लबको सहकार्यमा सम्पन्न भएको थियो।

समापन समारोहमा प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री रमा आलेमगरको उपस्थिति रहेको थियो। चन्द्रागिरि ब्याडमिन्टन क्लबका अध्यक्ष एवं राष्ट्रिय खेलाडी राजकुमार पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, ओलम्पियन प्रिन्स दाहाल, शिक्षा शाखाका सुजन खनाल, वडा नं १२ का अध्यक्ष न्हुच्छे बहादुर महर्जन, वडा नं ५ का अध्यक्ष राजेन्द्र महर्जन, ईन्जिनियर उत्तम बहादुर राउत, समाजसेवी सन्तोष खड्का, देवेन्द्र प्रधान, समाजसेवी तथा युवा व्यवसायी रामनारायण घिमिरे, प्याव्सन  चन्द्रागिरिका सरोज महर्जन, नारायणप्रसाद सिग्देल लगायतको उपस्थिति थियो।

विभिन्न उमेर समूहका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको प्रतियोगितामा छात्रातर्फ अन्डर–१५ समूहमा बलम्बु स्कुलकी सुजता मगर प्रथम भइन् भने सोही स्कुलकी इलिना मगर दोस्रो भइन्। तेस्रो स्थानमा प्रिष्मा पोखरेल र रेशी खत्री रहे। छात्रतर्फ प्रलिन राना पहिलो, स्ट्रीभ खत्री दोस्रो तथा स्वभाव विष्ट र दिप्सन चौधरी तेस्रो भए।

छात्रातर्फ अन्डर–१२ समूहमा खुस्बु थापा मगर प्रथम, युना घलान दोस्रो र आरती बुढा तथा भावना बोगटी तेस्रो भए। छात्रातर्फ बिप्लव खड्का पहिलो, ईच्छुक श्रेष्ठ दोस्रो तथा मिलन मल्ल र आयुष थापा मगर तेस्रो भएका थिए।

उल्लेखनीय खेल प्रदर्शन गरेका विजेता र उपविजेता खेलाडीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। साथै सहभागी सम्पूर्ण खेलाडीहरूका लागि प्रतियोगिताको अवधिभर खाजाको व्यवस्था गरिएको सचिव हरिप्रसाद शर्माले जानकारी दिए।

पुरस्कार वितरण समारोहमा ओलम्पियन प्रिन्स दाहाल, भेट्रान खेलाडी हरि खत्री र राजकुमार पोखरेल, प्रशिक्षक दिवाकर पाण्डे, चक्र साउद तथा कुमार अधिकारीलाई सम्मान गरिएको थियो। सोही अवसरमा करातेको मुख्य प्रशिक्षक जिम्मेवारी हालै पाएका कुमार श्रेष्ठलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमा आलेमगरले चन्द्रागिरि नगरस्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएकोमा आयोजकलाई धन्यवाद दिँदै भनिन्, “म मन्त्री हुँदा पनि खेलकुद पूर्वाधार निर्माणमा विशेष जोड दिएकी थिएँ। दक्ष खेलाडी उत्पादन, खेलकुदको गुणस्तर अभिवृद्धि र आवश्यक संरचना निर्माण मेरो पहिलो प्राथमिकता हो। आगामी दिनमा पनि म यो अभियानमा समर्पित रहनेछु।”

त्यस्तै, कार्यक्रमका सभापति तथा चन्द्रागिरि ब्याडमिन्टन क्लबका अध्यक्ष राजकुमार पोखरेलले चन्द्रागिरि क्षेत्रमै यति ठूलो स्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको उल्लेख गर्दै भने, “विद्यालय तहमै यस्तो स्तरीय प्रतियोगिता गरिनुले बालबालिकाको आत्मविश्वास बढ्ने, खेलकुदमा उनीहरूलाई प्रेरणा प्राप्त हुने र भविष्यका उत्कृष्ट खेलाडी तयार पार्ने आधार निर्माण हुन्छ। हामीले यो अभियानलाई हरेक वर्ष निरन्तरता दिनेछौँ।”

उनले खेलकुदलाई शिक्षा सरह महत्वपूर्ण पक्षको रूपमा विकास गर्नुपर्ने भन्दै सरकारी, गैरसरकारी तथा समुदायको सहकार्य आवश्यक रहेको धारणा राखे।

चन्द्रागिरि नगरको खेलकुद विकास, विद्यार्थीहरूको प्रतिभा पहिचान र समुन्नत शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा यस प्रतियोगिताले उल्लेखनीय योगदान पुर्‍याएको सहभागी सबै पक्षले जनाएका छन्।

तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार