काठमाडौं । चन्द्रागिरि नगरपालिकामा सक्रिय रहेका आठ राजनीतिक दलहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै भाद्र २३ गते जेन–जेड युवाहरूले गरेकाे प्रदर्शन र त्यसपछि देशभर भएका घटनाबारे गहिरो दुःख व्यक्त गरेका छन् ।
विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिप्रति स्तब्धता व्यक्त गर्दै ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ । दलहरूले ठुलो संख्यामा युवाहरूको मृत्यु हुनु र घाइते हुनु दुःखद रहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
भाद्र २४ गते देशव्यापी रुपमा भएको आगजनी, तोडफोड, हिंसा र लुटपाटप्रति पनि दलहरूले खेद व्यक्त गरेका छन् । सरकारी भवन, महत्वपूर्ण कागजात जलाउनु र सार्वजनिक तथा निजी सम्पत्ति नष्ट पारिनु विडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख छ । सो घटनापछि १३ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट बाहिर निस्कँदा मुलुकको शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सम्पूर्ण जनसमुदायलाई एकजुट भई अगाडि बढ्न आह्वान गरेका छन् । साथै, जनताले उठाएका सुशासनका मागहरू सही भएको स्वीकार गर्दै बाह्य शक्तिले देशलाई अस्थिर बनाउन खोजिरहेकोबारे सचेत रहन आग्रह गरेका छन् ।
विज्ञप्तिमा देशका जिम्मेवार दलको हैसियतले विगतमा भएका कमजोरीको गम्भीर समीक्षा गर्दै आगामी दिनमा त्यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
संयुक्त वक्तव्य जारी गर्ने दलहरूमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी), जनता समाजवादी पार्टी र नेपाल समाजवादी नयाँ शक्ति पार्टी रहेका छन् ।
हेर्नुस विज्ञप्ति
