६ जेठ रूकुम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार तथा बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ।
चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले उपचार, रोजगारी, शिक्षा तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्ना गुनासा राखेका थिए। घाइते तथा अपाङ्गको नियमित उपचार, बेपत्ता व्यक्तिको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको भविष्य र रोजगारीमा सरकारको उपेक्षा भएको गुनासो उनीहरूले गरे।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको आत्मसमीक्षा गर्दै जनतामाझ पुनः पुग्ने अभियान सुरु गरिएको जानकारी गराए। उनले विगतमा पार्टीले सहिद तथा घाइते परिवारका पक्षमा विभिन्न कामहरू गरे पनि विवरण संकलनमा त्रुटिका कारण केही छुट हुन पुगेको स्वीकार गरे।
सत्य निरूपण तथा मेलमिलाप आयोग (TRC) सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै प्रचण्डले अहिलेको समितिले कार्यविधिअनुसार काम अघि बढाउने अपेक्षा राखेका छन्। उनले बेपत्ता व्यक्तिहरूलाई सहिदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति उपलब्ध गरिनुपर्ने स्पष्ट धारणा व्यक्त गरे।
“हामी क्रान्ति पूरा गरेर होइन, सम्झौताबाट आएको अवस्था हो,” अध्यक्ष प्रचण्डले भने, “अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ। म समाजवादी क्रान्तिको यात्रामा कमीकमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाउँछु।”
अभियानको उद्देश्य देशभर पुगेर जनयुद्धपीडितहरूसँग प्रत्यक्ष संवाद, पार्टीको कमजोरीको समीक्षा र जनविश्वास पुनःस्थापना गर्नु रहेको प्रचण्डले बताए।