• ट्रेण्डिङ :

जनतालाई बुझाउनु नै सबैभन्दा गाह्रो काम हो : अध्यक्ष चित्रबहादुर केसी

जनतालाई बुझाउनु नै सबैभन्दा गाह्रो काम हो : अध्यक्ष चित्रबहादुर केसी

“राजनीति गर्नेहरूको चरित्र नमुना हुनुपर्छ”– केसी

cnewsnepal

शुक्रबार, बैशाख १९ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले राजनीतिमा सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु नै भएको बताएका छन्।

१३६औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा २०८२ वैशाख १८ गते अबेर रातिसम्म आयोजना गरिएको भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष केसीले जनतालाई चेतनशील बनाउनु सबैभन्दा कठिन कार्य भएको बताएका हुन्।

उहाँले बताएअनुसार भूमिगत कालमा आफूहरूले चेतनशील बनाएका जनता अझै पनि सही धारणा कायम राख्न सफल भएका छन्। उनले भने, “मुख्य कुरा जनतालाई चेतनशील बनाउनु हो। जुन जनतालाई हामीले भूमिगत कालमा सचेत गराएका थियौँ, ती जनता अहिले पनि बिग्रेका छैनन्।”

अध्यक्ष केसीले जनतालाई बुझाउन सफल भएका जिल्लाहरूमा आज पनि गलत राजनीतिक प्रवृत्तिको विरोध गर्ने चेतना रहेको बताए। उनले बागलुङ, प्युठान, अर्घाखाँची लगायतका जिल्लाको उदाहरण दिँदै भने, “त्यहाँका जनताले दरबारिया, काँग्रेस, एमाले, माओवादीजस्ता शक्तिहरूलाई घृणा गर्छन्।”

उनले जनतामा संसार बदल्ने अजेय शक्ति रहेको उल्लेख गर्दै इतिहासमा जनताले ल्याएका परिवर्तनहरूको उदाहरण प्रस्तुत गरे। उनले बताएअनुसार, “जनताले सही कुरा बुझ्दा च्याङकाई सेक ढल्यो, जार ढल्यो, भारतबाट अङ्ग्रेज भागे, नेपालबाट राणाशासन, पञ्चायती शासन र राजतन्त्र समाप्त भयो।”

राजनीति गर्नेहरूको विचार, बोली, व्यवहार र चरित्र नमुना हुनुपर्ने कुरामा जोड दिँदै उनले भने, “त्यसमा दृढता हुनुपर्छ। त्यसको प्रभाव जनतामा पार्न सकियो भने जनता अजेय किल्ला बन्न सक्छ।”

उहाँले यस्तो कार्यका लागि धैर्यपूर्वक र दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अन्तर्राष्ट्रिय महासचिव खुम रायमाझी, नेकपा (मसाल) ३ नम्बर प्रदेश ब्युरो प्रवक्ता समीर सिंह, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, कतार नेपाली एकता समाज अध्यक्ष रामप्रसाद पराजुली, अन्तर्राष्ट्रिय सल्लाहकार निशा खनाल र नेपाली एकता समाजकी जमुना सापकोटाले पनि आफ्ना धारणा राखेका थिए।

कार्यक्रम अन्तर्राष्ट्रिय अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा सचिव तेजेन्द्र क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो। उपाध्यक्ष प्रेम पौडेलले स्वागत मन्तव्य राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार