१९ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आलोचना गर्ने प्रवृत्तिको कडा प्रतिवाद गरेका छन्। सोमबार फेसबुकमार्फत पोस्ट गर्दै उनले आफूलाई ‘झोले’ भन्नेहरुको आलोचना स्वीकार गर्दै त्यसलाई गर्वको रूपमा प्रस्तुत गरेका छन्।
“हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,” ओलीले पोस्टमा लेखेका छन्। उनले भीडसँग बल त हुने तर सत्य नहुन सक्ने उल्लेख गर्दै सत्यका पक्षमा अडिग रहन सबैलाई आग्रह गरेका छन्।
आफू ‘झोले’ भएको स्वीकार गर्दै ओलीले भनेका छन्, “म झोले हो। एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।”
सामाजिक सञ्जालमा ‘झोले’ भनेर खेदिएको भन्दै ओलीले हरेक व्यक्तिले सामूहिक र संगठित आक्रमणबाट आफ्नो निजत्व जोगाउनु पर्ने बताएका छन्।
उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्किएको बहसलाई नयाँ मोड दिएको छ।