• ट्रेण्डिङ :

नवनियुक्त मन्त्रीले लिए शपथ, २० सदस्यीय मन्त्रिपरिषद् गठन

नवनियुक्त मन्त्रीले लिए शपथ, २० सदस्यीय मन्त्रिपरिषद् गठन

cnewsnepal

बुधबार, फाल्गुन २३ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ मन्त्रिपरिषदका सदस्यले शपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीताको शपथ दिलाएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट १६ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नयाँ मन्त्रीमण्डलमा तीनजना उपप्रधानमन्त्री रहेका छन् । योसँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पुनर्गठित मन्त्रिमण्डलमा एमालेका उपमहासचिव रघुवीर महासेठ, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त भएका छन्।

महासेठले भौतिक पूर्वाधार, श्रेष्ठले परराष्ट्र र लामिछानेले गृह मन्त्रालयको विभागीय जिम्मेवारी पाएका छन्।

एमालेबाट हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योगमन्त्रीको जिम्मेवारीमा पुगेका छन्।

ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास र बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाएका छन्।

माओवादीबाट वर्षमान पुनले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन्। यस्तै शक्ति बस्नेत ऊर्जा र रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा दोहोरिएका छन्।

रास्वपाका विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हाँक्न पुगेका छन्।

एकीकृत समाजवादीबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रालयको नेतृत्व पाएका छन्।

सोमबार मात्र एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको शपथ लिएका थिए।

यीमध्ये गिरीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व पाएका छन् भने हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाएका छन्। डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फर्किएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार