• ट्रेण्डिङ :

नागरिक उन्मुक्तिमा रेशम-रञ्जिता विवाद चर्कियो, रञ्जिताको निर्देशन सांसदले मानेनन्

नागरिक उन्मुक्तिमा रेशम-रञ्जिता विवाद चर्कियो, रञ्जिताको निर्देशन सांसदले मानेनन्

cnewsnepal

बुधबार, फाल्गुन ३० २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा नेता रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद बढेको छ । पति पत्नीसमेत रहेका रेशम र रञ्जिताबीच वर्तमान सत्तागठबन्धनमा सामेल हुने कि विपक्षी कांग्रेसलाई साथ दिने भन्ने विषयले रडाको मच्चिएको हो ।

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता नदिएका रेशम चौधरीले कांग्रेसलाई साथ दिएर सुदूरपश्चिम सरकारमा आफ्ना सांसदलाई मन्त्री बनाएका छन् भने अध्यक्ष रञ्जिताले माओवादी–एमालेको सत्तागठबन्धनलाई साथ दिएकी छन् ।

यही कारण अध्यक्ष रञ्जिताको निर्देशन सुदूरपश्चिम प्रदेश सांसदहरूले उल्लंघन गरेका छन् ।

रञ्जिताले सुदूरपश्चिम प्रदेश सांसदलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएपनि रेशमको आड पाएर उनीहरु सरकारमा मन्त्री बनेका छन् । सात जना सांसद रहेको नाउपाका पाँचजना सांसद प्रदेश सरकारमा सहभागी छन् ।

निर्वाचन आयोगले अध्यक्षमा पुनःस्थापित गरिदिएपछि रेशम पत्नी रञ्जिताले संसदीय दललाई मन्त्री फिर्ता गराउन र सरकारलाई दिएको समर्थन फिर्ता गराउन निर्देशन दिएकी थिइन् ।

तर उनको निर्देशनको अवज्ञा गर्दै रेशमले रञ्जितानिकट मानिने लक्ष्मणकिशोर चौधरीलाई आफ्नो पक्षमा पार्दै सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाबाट बिना विभागीय मन्त्री बनाएर पठाए ।

यो सँगै सुदूरपश्चिम प्रदेश सभामा रहेका नागरिक उन्मुक्तिका ७ मध्ये ६ सांसदले मन्त्री बन्ने अवसर पाएका छन्। जसमध्ये ५ सांसदले त एकैपटक मन्त्री पाएका छन्।

नागरिक उन्मुक्तिबाट रेशमको साथ पाएका मुख्यमन्त्री कमल बहादुर शाह सरकार जोगाउन राप्रपा र स्वतन्त्र सांसद फकाउँदै छन्।

यता, प्रतिनिधि सभा संसदीय दलको नेतासमेत रहेकी पार्टी अध्यक्ष रञ्जिताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन जारी गरेकी छन् । नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री दाहाल फागुन ३० मा प्रतिनिधि सभाबाट विश्वासको मत लिंँदैछन् ।

श्रेष्ठले ४ जना सांसदलाई अनिवार्य उपस्थिति हुन र प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न निर्देशन दिएकी हुन् ।

‘प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ। सबै सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन जारी गरेका छौँ’, रञ्जिता जारी गरेको ह्वीपमा लेखेकी छन् ।

रेशमको पकड रहेको नागरिक उन्मुक्तिमा प्रतिनिधि सभाका सांसदले सुदूरपश्चिममा जस्तै केन्द्रमा पनि रञ्जिताको निर्देशन उल्लंघन गर्छन् वा पालना गरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छन् त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार