१२ जेठ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का नेता गंगा नारायण श्रेष्ठले पाँच बुँदे राजनीतिक, वैचारिक र संगठनात्मक निर्णयमा हस्ताक्षर गर्दै गंगा श्रेष्ठ नेतृत्वको समूहलाई माओवादी केन्द्रमा समायोजन गरिएको घोषणा गरेका छन्।
जेठ १२ गते प्रचण्डको अध्यक्षतामा सम्पन्न समायोजन भेलाले माओवादी केन्द्रको मार्गनिर्देशक सिद्धान्तलाई मार्क्सवाद-लेनिनवाद र माओवाद हुने, नेपाली विशेषता अनुरूप समाजवादी क्रान्तिको कार्यक्रम अगाडि बढाउने, सडक, सदन र सरकार तीनै तहमा संघर्षलाई सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टीमा विचारको स्वतन्त्रता र कार्यान्वयनमा एकरुपताको जनवादी केन्द्रीयता लागू गरिने, वैचारिक छलफल महाधिवेशनसम्म गर्न सकिने बताइएको छ। साथै, नेसपाको तर्फबाट समायोजन नेतृत्व गरेका गंगा श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिव बनाइने र अन्य सदस्यहरुलाई सम्मानजनक जिम्मेवारी दिइने जनाइएको छ।
यसै निर्णयमार्फत गंगा श्रेष्ठको नेतृत्वमा रहेको नेसपाको केन्द्रीय कार्यसमितिसहित विभिन्न तहका सम्पूर्ण पार्टी सदस्यहरू माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरिएको हो।
