पर्सा, वीरगन्ज । सवारी दुर्घटनामा कमी ल्याउँदै यात्रु तथा चालकलाई सचेत गराउने उद्देश्यले पर्सामा ट्राफिक जनचेतना सप्ताहको सुरुआत गरिएको छ। जेठ २२ गतेदेखि सुरु भएको सप्ताहव्यापी अभियान जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको समन्वयमा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजना अन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सवारी दुर्घटनालाई ‘महारोग’को संज्ञा दिँदै यसको न्यूनीकरण अत्यावश्यक भएको धारणा राखे। “विभिन्न रोगले भन्दा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढ्दो छ,” उनले भने, “ट्राफिक नियम पालना गर्नु सभ्य नागरिकको पहिलो पहिचान हो।”
जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले नियमको पालनाले ज्यान जोगाउन सकिने स्पष्ट पारे। “ट्राफिक नियम आफ्नै सुरक्षाका लागि हो भन्ने सोच विकसित गर्नुपर्छ,” उनले जोड दिए।
कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय अन्तर्क्रिया, सडक सुरक्षा सचेतना र जनसमुदाय सहभागी हुने विविध गतिविधि गरिने ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख डीएसपी लोकराज भट्टले जानकारी दिए। “हामी वर्षभर नै ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ, अहिले यसलाई विशेष अभियानको रूपमा अघि बढाएका हौँ,” उनले भने।
जिल्लामा सवारी दुर्घटनाको अवस्था पनि चिन्ताजनक रहेको छ। चालु आर्थिक वर्षको १० महिनामा ३४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भने अघिल्लो आर्थिक वर्षमा यो संख्या ५१ थियो।
कार्यक्रमको सफल समन्वयमा जुटेका प्रहरी निरीक्षक अमृत बस्नेतले वीरगन्जको घण्टाघर, आर्दशनगर, अलखिया मठ हुँदै पुनः घण्टाघरमा फर्केर जनचेतनामूलक र्याली सम्पन्न गरिएको जानकारी दिए। वरिष्ठ प्रहरी नायब निरीक्षक (सप्रनानी) गुणनिधि खकुरेलका अनुसार अभियानमा दुई हजारभन्दा बढी सहभागी थिए, जसमा विभिन्न विद्यालयका विद्यार्थी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
तस्बिरहरू
