१५ जेठ,काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा लगाएको छ ।
महासचिव प्रकाश थापामगरको नेतृत्वमा केन्द्रिय सदस्य रोसन दानी,पत्रकार पेशल खतिवडा,खेमराज अधिकारी, किसान दानी लगायत सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा पुगी प्रगतिशीलले ताल्चा लगाएको हो ।
सो अवसरमा महासङ्घको केन्द्रीय कार्यालयमा प्रगतिशील सङ्गठनको प्रेसवक्तव्य पनि टाँसिएको थियो ।
प्रेसवक्तव्यमा महासङ्घले आस्थाको आधारमा प्रगतिशील पत्रकार सङ्घसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता खारेज गरेकोमा विरोध गरिएको छ ।

त्यस्तै, वक्तव्यमा नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्न र स्थानान्तरण कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।
सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै महासचिव प्रकाश थापामगरले महासङ्घभित्र सदस्यता शुद्धीकरणलाई आफ्नो सङ्गठनले नीतिगत रूपमा स्वीकार गरे पनि अहिले जारी भएको शुद्धीकरण नामावलीप्रति आफूहरूको विरोध रहेको बताए ।
शुद्धीकरण आवश्यक थियो तर त्यसको मर्म आत्मसात गरिएन’ उनले भने– ‘एकै प्रकृतिका अन्य पत्रकारको सदस्यता कायम राखिएको छ तर प्रगतिशील पत्रकार सङ्घसम्बद्ध क्रियाशील पत्रकारलाई आस्थाकै आधारमा हटाइएको छ ।’
उनले भने– ‘यस खालको आस्थाको आधारमा भेदभाव गर्ने तरिकाको हामी कडा शब्दमा विरोध गर्दछौँ ।’
महासचिव थापाले शुद्धीकरण नामावलीमा देखा परेको विकृतिका विरुद्ध आवाज उठाउने अन्य सङ्गठनको आन्दोलनप्रति आफूहरूको समर्थन रहेको पनि जानकारी गराए । प्रगतिशील पत्रकार सङ्घका केन्द्रिय सदस्य रोसन दानीले महासंघको गैर जिम्मेवारी पनले गर्दा समग्र श्रमजिवी पत्रकारहरु माथीको प्रहार रहेको बताए । आस्थाकै आधारमा लामो समय देखि काम गर्दे आएका पत्रकारहरुमा गरिएको विवेदकारी कदमका विरुद्ध जस्तो सुकै कदम चाल्न पनि पछि नहटने चेतावनी दिए । पत्रकारका अधिकारका लागि लड्न सवै एक जुट भ्रएर लाग्नु पर्ने दानीको भनाई थियो ।
