• ट्रेण्डिङ :

पतञ्जली योगपीठ जग्गा प्रकरणको पैसा ल्याएर माधव नेपालले पार्टी कब्जा गर्न प्रयोग गर्नुभयोः एमाले सांसद शाही

पतञ्जली योगपीठ जग्गा प्रकरणको पैसा ल्याएर माधव नेपालले पार्टी कब्जा गर्न प्रयोग गर्नुभयोः एमाले सांसद शाही

cnewsnepal

शनिबार, जेष्ठ २४ २०८२
पढ्न लाग्ने समय: < ३ मिनेट


२४ जेठ,काठमाडौं  । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले पतञ्जली योगपीठको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संलग्नता छैन होला भनेर अनुमान गर्न नसकिने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्‌नो भान्जा बैंकको सिईओ भएको बेलामा प्रधानमन्त्री नेपालले पतञ्जली योगपीठको जग्गामा चलखेल गरेको दाबी गरेका हुन् । तत्कालीन अवस्थामा पतञ्जीमा चलखेल गरेको पैसा माधवले पार्टी कब्जा गर्न प्रयोग गरेको पनि उनले आरोप लगाए ।

‘उहाँ अहिले हामीलाई एमालेले फसायो, ओलीले षड्यन्त्र गर्यो भन्नुहुन्छ । तर य ले बी लाई जग्गा बेच्यो भने पास गर्ने मालपोत कार्यालय छ । माधव नेपाल किन तानिनुभयो त ? उहाँको भान्जा हुनुहुन्छ, त्यो बैंकको सीईओ । त्यो पैसा ल्याएर पार्टी कब्जा गर्ने कुरामा प्रयोग गर्नुभएको थियो । त्यो कुरा साँचो हो । जसले प्रधानमन्त्री बनाइदिने पार्टी फोर्न त लाज मानेनन् भने गरेनन् होला त ?’ प्रश्न गर्दै उनले भने ।

अहिले माधव नेपाललगायतले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले षड्यन्त्र गरेर फसाएको भनी भ्रम छरिरहेको पनि उनले बताए । नेता शाहीले अदालत एमाले र ओलीविरोधी रहेको दाबी गरे । ओलीविरोधी अदालत भएको बेलामा नै सफाइ लिन एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सुझावसमेत दिए ।
‘अझ पनि उहाँलाई भारी छुट छ । अदालत त ओलीविरोधी छ । उहाँले ‘क’ भने ‘ज्ञ’ भन्छ । मनमोहनको सरकार ढालेकै हो अदालतले ओलीको सरकार ढालेकै हो । सफाइ पाएर आए भइहाल्यो नि त । किन रुवाबासी ?’ प्रश्न गर्दै उनले भने ।
साथै, भोलिको सदन खुल्ने वा नखुल्ने भन्ने कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातमा रहेको पनि उनले बताए ।

नेता शाहीले माओवादीमा रुपान्तर भएपछि र उसले लोकतन्त्रमा भविष्य देखेपछिमात्रै देशले सुख पाउने बताए । आफू र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई धेरैले माओवादी विरोधीको भाष्य बनाउन खोजेको उनले बताए । ओलीको बटमलाइन माओवादीलाई पनि कांग्रेस–एमालेकै हैसियतमा पुर्याउने रहेको उनले बताए । माओवादी कांग्रेस–एमालेकै स्तरमा आउँदाखेरी देश बन्ने उनले दाबी गरे ।

‘सदन खुल्नेमात्रै होइन देश खुल्ने कुरा प्रचण्डमा निर्भर छ । प्रचण्डको २०७२ सालमा आएको बुद्धि २०६४ मै आएको भए पहिलो संविधानसभा फेल खाने थिएन । एमालेमा ओलीधारका मान्छेलाई माओवादी विरोधी भन्छन् । तर, के छ भने प्रचण्डलाई, माओवादीलाई एमाले र कांग्रेसको स्तरमा ल्यायो भने देश बन्छ । जब उहाँ हलो अड्काएजस्तो गर्नुहुन्छ, कहिलेकाँही नहिँड्ने गोरूको जस्तो जिद्धी गर्नुहुन्छ । अनि देशले दुःख पाउँछ । माओवादी सुध्रिनुमा देशको भविष्य निर्भर छ । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको बटमलाइन हो,’– उनले भने ।
साथै, वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको उनले बताए । स्वर्णिम वाग्लेजस्ता भगौडा र माधव नेपालजस्ता अवसरवादीहरुले एमाले–कांग्रेससहितको गठबन्धन बनेको उनले बताए । उनले माओवादीलाई प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी हुनसमेत सुझाव दिए ।

नेता शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने बताए । ‘भिजिट भिसा प्रकरणमा उहाँले कसैलाई खटाएको अडिओ, भिडिओ, हस्ताक्षर, औंठाछाप, तीनपुस्ते नआउँदासम्म रमेश लेखकलाई पेल्न हुँदैन,’– उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार