• ट्रेण्डिङ :

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण : विकास सम्मेलनमा सहभागिता, द्विपक्षीय भेटवार्ता र लगानी प्रवर्धन मुख्य एजेण्डा

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण : विकास सम्मेलनमा सहभागिता, द्विपक्षीय भेटवार्ता र लगानी प्रवर्धन मुख्य एजेण्डा

cnewsnepal

शनिबार, असार १४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


१४ असार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको आयोजना अन्तर्गत “विकासका लागि वित्त (Financing for Development)” चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज साँझ स्पेन प्रस्थान गर्दै छन्। राजधानी म्याड्रिड हुँदै सेभिया शहरमा आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन जाँदै छन्।

प्रधानमन्त्री ओली असार १५ गतेदेखि सेभियामा सुरु हुने सम्मेलनका विभिन्न सत्रमा सहभागी हुने छन्। सम्मेलनको समापन सत्रदेखि उद्घाटन समारोहसम्म, उनले विभिन्न साइड–इभेन्ट र थिम आधारित राउण्ड टेबलमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेज, संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटरेस, इजिप्ट, पोर्चुगल, स्तोनिया लगायतका राष्ट्र नेतासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

असार १८ गते म्याड्रिडमा आयोजना हुने ‘नेपाल–स्पेन व्यापार तथा लगानी प्रवर्धन साँझ’ कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पेनी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्ने छन्। उक्त कार्यक्रम नेपाली निर्यात वृद्धि र पर्यटन प्रवर्धनमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

अन्तिम दिन असार १९ गते प्रधानमन्त्री ओलीले स्पेनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने छन्। साथै, रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट र रंगशालाको अवलोकनसमेत भ्रमणको हिस्सा हुनेछ।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली असार १९ गते राति स्पेनबाट प्रस्थान गरी असार २० गते दिउँसो ४:४५ बजे काठमाडौं अवतरण गर्ने कार्यतालिका रहेको छ।

यस भ्रमणले नेपालको विकास, वित्तीय स्रोत, जलवायु परिवर्तन, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा योगदान पुर्‍याउने प्रधानमन्त्री ओलीको विश्वास रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार