गोदावरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताएका छन् । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आवश्यक काम अघि बढेको जिकिर गरे।
अध्यक्ष दाहालले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको उल्लेख गर्दै जनताको अधिकार, संविधान र न्याय खोस्न खोज्नेविरुद्ध फेरि अर्को लडाईं लड्नुपरे आफू तयार रहेको बताए ।
उनले जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासदेखि बेखुसी देखिएका केही तत्व सडकमा उफ्रिँदैमा कसैले पनि जनताको शासन व्यवस्था खोस्न नसक्ने बताए।
अध्यक्ष दाहालले थारु आदिवासी, जनजाति तथा महिलाले अधिकार प्राप्त गरेकोप्रति सही नसक्नेलाई जनताले नै परास्त गर्ने बताए । जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भूमि व्यवस्थापनमा आफ्नो पार्टीले विशेष जोड दिएको उनकाे भनाइ थियो । देश र जनता जोगाउन सक्ने एकमात्रै पार्टी माओवादी केन्द्र भएको जिकिर गर्दै उनले अन्य पार्टीले पटकपटक देशीविदेशी तत्वसँग घुँडा टेकिसकेको आरोप लगाए ।
प्रतिक्रिया
सम्बन्धित समाचार