• ट्रेण्डिङ :

महेश खरेलद्वारा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

महेश खरेलद्वारा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

cnewsnepal

आइतबार, असोज १८ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


​काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो।

​नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको मनोनयन दर्ता काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा भइरहेको छ। महाधिवेशनको यस प्रक्रियामा खरेलसँगै अन्य विभिन्न नेताहरूले पनि केन्द्रीय सदस्यका लागि आ-आफ्नो उम्मेदवारी सार्वजनिक गरिरहेका छन्।

​नेविसंघ र बाल कांग्रेसबाट राजनीतिक यात्रा सुरु गर्नुभएका खरेल लामो समय अमेरिका बसाइपछि “स्वदेशमै केही गर्नुपर्छ” भन्ने सङ्कल्पका साथ नेपाल फर्कनुभएको थियो। उहाँ कांग्रेसका तर्फबाट लगातार दोस्रो कार्यकालका लागि पाँचखाल नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको छ।

​पत्रकार सम्मेलनमा पार्टीको वर्तमान अवस्था र राजनीतिक विकृतिप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका खरेलले भन्नुभयो, “यो महाधिवेशन पार्टीभित्रको गुट र फुटको अन्त्य गर्ने उपयुक्त अवसर पनि हो। नेपाली कांग्रेसको खस्किएको शाखलाई माथि उठाउन र संवैधानिक निकायहरूमा चकलेट बाँडेजस्तो गरी भइरहेको दलीय भागबन्डा रोक्नुपर्छ। यस्ता विकृतिले राजनीतिप्रति नागरिकमा बढाएको वितृष्णा हटाउन अब सक्षम र प्रस्ट भिजन भएका व्यक्तिहरू अगाडि आउनैपर्छ।”

​पार्टीलाई बीपीको मौलिक विचारमा फर्काउनुपर्नेमा जोड दिँदै उहाँले थप भन्नुभयो, “बीपीको विचार र सिद्धान्तलाई साँच्चिकै आत्मसात् गर्न सक्ने व्यक्तिले मात्रै यो देशलाई समृद्धिको दिशामा अघि बढाउन सक्छ। अब पार्टीमा भाषण मात्रै गर्ने होइन, काम गरेर देखाउने नेतृत्वको खाँचो छ।”

​नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा स्थानीय तहमा लोकप्रिय र जनधार भएका नेताहरू केन्द्रीय राजनीतिमा आउने क्रम बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार