काठमाडौं, १६ कात्तिक । चन्द्रागिरि नगरपालिकाका विभिन्न वडामा नागरिकको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रभाग बलम्बुले विशेष सुरक्षा कार्ययोजनासहित कड्ड कदम चालको छ। वडा नम्बर १, १०, ११, १२, १३,१४ र १५ मा हुन सक्ने सम्भावित चोरी, लुटपाट तथा लागुऔषधको दुव्र्यसन र कारोबारलाई नियन्त्रण गर्न प्रहरीले कूटनीतिक र व्यावहारिक दुवै रणनीति अपनाएको छ।
बलम्बु प्रहरी प्रभागका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निराजन सुनारको नेतृत्वमा सञ्चालित विशेष सुरक्षा अभियान पश्चात् यस क्षेत्रमा आपराधिक गतिविधिमा उल्लेख्य कमी आएको छ। स्थानीय बासिन्दाले समेत प्रहरीको सक्रियताप्रति सन्तोष व्यक्त गरेका छन्।
बलम्वुले अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन अत्याधुनिक प्रविधि र सिसिटिभी (CCTV) मनिटरिङलाई प्राथमिकता दिइएको छ। संवेदनशील क्षेत्रहरूमा २४ सै घण्टा निगरानी बढाइएको छ।
क्षेत्रभित्र आश्रित वा आवातजावत गर्ने आपराधिक पृष्ठभूमिका शंकास्पद व्यक्तिहरूको पहिचान, तथ्याङ्क सङ्कलन (रेकर्डिङ) र खानतलासीलाई तीव्र पारिएको छ।
युवापुस्तालाई लागुऔषधको कुलतबाट बचाउन र यसको कारोबारलाई जरादेखि उखेल्न प्रहरीले विशेष काउन्सिलिङ र धरपकड अभियान सञ्चालन गरिरहेको छ।
चाडपर्व तथा रात्रिकालीन समयमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्न गस्तीलाई बाक्लो बनाइएको छ भने स्थानीय समुदाय र व्यवसायीहरूसँगको समन्वयलाई बलियो बनाइएको छ।
प्रहरी निरीक्षक सुनारले स्थानीय नागरिकको सहयोग र प्रहरीको दृढ इच्छाशक्तिका कारण समाजमा अमनचैन कायम गर्न सम्भव भएको बताएका छन्। नागरिकको सुरक्षाका लागि प्रहरीले कुनै पनि किसिमको कसर नराख्ने र आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लगिने उनको प्रतिबद्धता छ।
बलम्बु प्रहरीको यो सक्रियताले चन्द्रागिरि क्षेत्रका नागरिकलाई सुरक्षित र भयरहित वातावरणमा जीवनयापन गर्न ठूलो राहत पुर्याएको छ।