७ साउन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफ गर्ने बताएका छन् ।
बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई एकताका लागि यसअघि गरेका गल्तीलाई माफी दिने बताएका हुन् ।
पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपरेको भन्दै उनले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गरे । ओलीले कम्युनिष्ट आन्दोलन अझैपनि पुरा नभएकाले एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।
ओलीले आफ्नो सरकारलाई जनादेशले नभई परमादेशले हटाएको बताए । उनले राष्ट्र र जनताको पक्षमा काम गरेको देख्न नचाहेकाले सुरुदेखि नै आफ्नो सरकारलाई हटाउन कोशिस गरेको र अदालतले बाटो सहज बनाइदिएको तर्क गरे ।
अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसद्मा एमाले प्रमुख पार्टी रहेको र यसले जहिले पनि अग्रगामी विचार लिने उनले बताए ।
उनले कम्युनिष्टलाई मजबुद बनाउनका लागि पुष्पलालले रोपेको बिरुवालाई मर्न नदिने स्पष्ट पारे। पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर अगाडी बढेको भन्दै उनले अव आफुहरुले यसलाई थप मजबुद बनाउने जिकिर गरे । कार्यक्रममा एमाले नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्याएकाे याेगदानकाे कदर गरिएको थियाे ।