काठमाडौं । सहकारीको बचत रकम अपचलनमा जोडिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले मशाल जुलुस निकालेका छन् ।
सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा राँके जुलुश निकाल्दै युवा विद्यार्थीले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरे।
उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार बिवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन्।
यस्तै, युवा विद्यार्थीले गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै युवा तथा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।
