छायाचन्द्र भण्डारी,काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहन्छन् ।
१३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजीत पौडेलले अहिले त्यसको बदला लिन चाहन्छन् । तर, उनलाई आफ्नो गुट मिलाएर उम्मेदवार बन्नै गाह्रो छ । आगामी महाधिवेशनमा उनको गुटबाटै ७ सभापतिका उम्मेदवार छन् । र एकले अर्कालाई छाड्न नसक्ने ति उम्मेदवारले बताइरहेका छन् ।
गत शुक्रबार आफ्नो गुटका नेतालाई बोलाएर आफूलाई सहयोग गर्न भनेका पौडेललाई धेरैले अभिभावक भएर बस्न र आफूलाई सहयोग गर्न आग्रह गरे । आफ्नो गुटबाट एक्लै उम्मेदवार भएर त जित्न गाह्रो हुने आकलत गरिरहेका पौडेललाई अझ एक भन्दा बढी उम्मेदवार भए हालत के हुन्छ भन्ने राम्रोसँग थाहा छ ।
१३ औं महाधिवेशनमा डाडू पत्यू आफ्नो हातमा हुँदा त पराजित पौडेल १४ औं महाधिवेशनमा झन पापड् बेल्नु पर्ने निश्चित छ । पौडेल समूहबाट अहिलेसम्म पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, सुजाता कोइराला, डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत र कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् ।
पौडेललाई गुरुङ, केसी, डा. महतलाई मिलाउन सहज छ । तर, अन्य चार जनालाई मिलाउन गाह्रो छ । कोइराला परिवार आफ्नो गुमेको लिगेसी यो महाधिवेशनमा जसरी भएपछि फर्काउन चाहन्छ । भने सिंह पनि आफू उपसभापति, महामन्त्री सबै भएकाले अब पालो सभापतिको भनेर लागिरहेका छन् ।
१३औं महाधिवेशनमा देउवासँग करिब ६ सय मतान्तरले पराजित पौडेल स्वाभाविक रुपमा सभापतिका दाबेदार भए पनि यो पटक उनको इच्छामा आफ्नै समूहका आकांक्षी बाधक बन्ने देखिएको छ । पौडेलले आफू सभापति देउवासँग लडेकाले यसपालि पनि स्वाभाविक दाबेदार भएको र यसअघि पराजित भएर घाइते भएकाले आफूलाई सबैले सहयोग गर्नुपर्ने बताइरहेका छन् ।
‘म १३ औं महाधिवेशनमा पनि सभापतिमा पराजित भएर घाइते भएको छु । फेरि पनि सभापति लड्छु । मिल्ने फर्मुला के हो? सबैले भन्दिन प¥यो,’ पौडेल भन्छन् ।
पौडेल समूह अहिले एक भएर जाने सम्भावना शून्य जस्तै रहेको नेताहरु बताउँछन् । ‘पौडेल समूह एक भएर महाधिवेशनमा जानु राम्रो कुरा हो । तर पौडेललाई फेरि एकपटक सभापतिको उम्मेदवार मानेर अघि बढ्न समूह एकजुट हुने सम्भावनामा निकै कमजोर छ,’ एक नेताले भने ।
सबै नेताहरूले एकपछि अर्को गर्दै उम्मेदवारी घोषणा गर्न थालेकाले पौडेललाई आफ्नै समूह एक ठाउँ उभ्याउन संकट छ । पौडेल पक्षका नेताहरू नै उनका नाममा सहमति जुट्नेमा शंका व्यक्त गर्छन् ।
पौडेलले आफू यसपालि पनि उम्मेदवार बन्ने बताए पनि उनले ढिलो गरी छलफल सुरु गरेका छन् । सभापतिका आकांक्षी देउवाले सबै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल सकेपछि मात्र उनले औपचारिक छलफल सुरु गरेका छन् । यसले पनि उनी यसपालि संकटमा भएको आंकलन गर्न सकिन्छ ।
आफ्नै समूहमा सभापतिका धेरै आकांक्षी देखिदा रनभुल्लमा परेका पौडेल पुनः सभापति लड्छन् वा उनकै समूहका अरु कोही उम्मेदवार हुन्छ ? त्यो अनुमान गर्न गाह्रो छ । तर, राजनीतिक विश्लेषकहरू पौडेल पुराना र लोकतन्त्रका लागि लडेका नेता भएकाले उम्मेदवार हुन सक्ने बताउँछन् ।
शेरबहादुरसँगै राजनीति गरेका पौडेललाई एकपटक उनैले सभापति बनाउँदा राम्रो हुने केहीको तर्क छ । तर, पौडेल भने गुटमा सहमति जुट्यो भने उम्मेदवार बन्ने र गुटबाटै एक भन्दा बढी उम्मेदवार हुने अवस्थामा उम्मेदवार नबन्ने आन्तरिक रणनीतिमा रहेको उनको सचिवालयका एक सदस्यले बताए ।