काठमाडौँ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले चारओटा उम्मेदवारी दिएको छ ।
राजमोले लुम्बिनीबाट बोमबहादुर खत्री र पद्मा पण्डित तथा गण्डकी प्रदेशबाट शङ्कर बराल र लक्ष्मी बासकोटालाई उम्मेदवार बनाएको हो ।घोराहीबाट खत्रीले र पोखराबाट राजमो नेता कृष्ण अधिकारीले युगदर्शनलाई सो जानकारी दिनुभयो ।
लुम्बिनीबाट उम्मेदवारी दर्ता गराउनुभएका खत्री हाल राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ । शिक्षक पृष्ठभूमिबाट नेकपा (मसाल) को राजनीति सुरु गर्नुभएका खत्री प्युठान जिल्ला विकास समितिका सभापति भइसक्नुभएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा उहाँ झिनो मतले पराजित हुनुभएको थियो । उहाँ राजमोको केन्द्रीय कोषाध्यक्षसमेत रहिसक्नुभएको छ ।
लुम्बिनीकै अर्की उम्मेदवार पण्डित जुझारु महिलानेतृ हुनुहुन्छ । हाल राजमो केन्द्रीय सल्लाहकार रहनुभएकी पण्डित प्युठानबाट राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ राजमोनिकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

गण्डकी प्रदेशबाट राजमो उम्मेदवार शङ्कर बराल हाल केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ । २०४२ सालको बमकाण्डका आरोपी बरालले त्यति बेला जेलसजाय भोगिसक्नुभएको छ । उहाँ यसअघि अखिल (छैठौं) का महासचिव र राजमोको केन्द्रीय उपाध्यक्ष रहिसक्नुभएको छ । उहाँ पोखरामा रहेर राजमोको राजनीति अगाडि बढाइरहनुभएको छ ।
गण्डकी प्रदेशकै अर्की उम्मेदवार बासकोटा राजमोनिकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव हुनुहुन्छ । कानुन व्यवसायीसमेत रहनुभएकी बास्कोटा बागलुङमा रहेर विभिन्न सामाजिक कार्यक्रममा समेत सक्रिय हुनुहुन्छ । राजमो केन्द्रीय सदस्यसमेत रहनुभएकी बास्कोटा २०७४ सालको निर्वाचनबाट बागलुङ वडा नं. ३ को वडाध्यक्ष हुनुहुन्थ्यो ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुन गइरहेको छ ।
