वैशाख ८ काठमाडौं । देशभर जारी शिक्षक आन्दोलन चुलिँदै गएको बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।
शिक्षकहरूले लामो समयदेखि आन्तरिक समायोजन, सेवा स्थायित्व, न्यूनतम पारिश्रमिक लगायतका विषयमा आन्दोलन गरिरहेका छन्। आन्दोलन क्रमशः उग्र बन्दै गएको अवस्थामा सरकारले ठोस कदम चाल्ने तयारी गरेको छ। यसै सन्दर्भमा सोमबार साँझ ६ बजे प्रधानमन्त्री ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ।
बैठकमा आन्दोलनरत शिक्षकहरूका माग समेटिएको प्रस्ताव शिक्षामन्त्रालयबाट पेश हुने तयारी थियाे। शिक्षक संगठनहरूका अनुसार सरकारले ‘प्याकेजमै’ निर्णय गर्ने संकेत देखिएको छ, जसले आन्दोलनलाई टुंग्याउने सम्भावना रहेको छ।
शिक्षामन्त्री भट्टराई र प्रधानमन्त्री ओलीबीच आन्दोलनको विषयमा पछिल्ला दिनहरूमा मतभेद देखिँदै आएको थियो। निजी सचिवालयका अनुसार मन्त्री भट्टराईले ती मतभेदका बीच आफ्नो पदबाट राजीनामा दिने निर्णय लिएकी हुन्।
यसैबीच, आन्दोलनरत शिक्षकहरू भने सरकारको निर्णयको प्रतीक्षामा रहेका छन्। धेरैले भोलिसम्म घर फर्किन सकिने अपेक्षा व्यक्त गरेका छन् ।