शरद शर्मा , १९ साउन काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुजसो बिरामी बढेका हुन् ।
उनका अनुसार आइसीयूमा २०, एचडीयूमा ५० र साधारण शय्यामा १३० जना बिरामी रहेका छन् । अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट शुरु भएको हो । दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन् ।
दोस्रो लहरमा सङ्क्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । सङ्क्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले विगत दुई हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताए । उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको बताए ।
उहाँका अनुसार अस्पतालमा १०० बिरामी रहेका छन् । तीमध्ये ३५ जना आइसीयू र चार जना भेन्टिलेटर र अन्य एचडीयूमा रहेका छन् । सङ्क्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार शय्या तयारी अवस्थामा राखेको उनको भनाइ छ । यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन् ।
उहाँले सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिनुभयो । यस्तै थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ ।
शुक्रराज अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड–१९ शय्यामा रहेका छन् ।
यस्तै पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा आशिष श्रेष्ठका अनुसार कूल १५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन् । यस्तै विगत २४ घण्टामा पाटन अस्पतालमा २२ सङ्क्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसीयू, १५ भेन्टिलेटर शय्या रहेका छन् ।
काठमाडौँ उपत्यकामा आठ हजार ८९५ सक्रिय सङ्क्रमित रहेका छन् । देशभरि १५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा दुई हजार ६०० आइसीयू रहेका र ६३० थप गर्ने प्रक्रियामा छन् । यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडीयू रहेका छन् । उपत्यकाका सरकारी अस्पतालमा ३११ आइसीयू र १३९ भेन्टिलेटर र साधारणसँगै एचडीयू दुई हजार ६६ शय्या रहेका छन् ।
देशभरिमा ६९० जना आइसीयु र १७५ भेन्टिलेटर, तीन हजार २२४ जना संस्थागत आइसोलेशन र २८ हजार ४०५ जना होम आइसोलेशनमा रहेका छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शय्या भरिन थालेको बताए ।
उनले अहिले १२२ जना सङ्क्रमित बिरामी उपचाररत रहेको जानकारी दिनुभयो । तीमध्ये ९१ जना साधारण शय्यामा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।
उनले बिरामी आउन थालेकाले अब २२ वटा साधारण शय्या र एक वटा मात्र आइसीयू शय्या खाली रहेका बताउनुभयो । अस्पतालमा १४५ शय्या कोभिड–१९ का सङ्क्रमितका लागि छुट्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडीयु र २२ आइसीयू बालबालिकाका लागि छुट्याइएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भीडभाड बढेकाले सङ्क्रमितसँगै बिरामी पनि बढेको बताए । “अहिले केही दिनयता समाजमा सङ्क्रमण बढेका पाइएको छ”, उनले भने, “सङ्क्रमितहरु दिनप्रतिदिन बढेका छन् ।” उनले निषेधाज्ञा खुकुलो भए पनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरे ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त
चन्द्रागिरि स्वास्थ्य शाखाको ‘कोल्ड चेन’ भत्किँदा जनस्वास्थ्यमा गम्भीर खेलबाड, शाखा प्रमुख महतोको चरम लापरबाही