२४ साउन,धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व सम्हालेको एक महिनामै प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले कडा र पारदर्शी कार्यशैलीको झझल्को दिएका छन्।
पदभार ग्रहण गरेलगत्तै अघिल्लो नेतृत्वले गरेको काज सरुवा बदर गरेर चर्चामा आएका उनले अहिले लागूऔषध, तस्करी, अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा ‘जिरो टोलरेन्स’ नीति अपनाएका हुन्।
तत्कालीन डीआईजी ओमबहादुर रानाको पालामा आर्थिक चलखेलको आरोपबीच ४ सय ४४ प्रहरी कर्मचारीको काज सरुवा भएको थियो। भट्टराईले पदभार सम्हालेलगत्तै उक्त विवादित सरुवा रद्द गर्दै पारदर्शिता र अनुशासनलाई प्राथमिकता दिएका थिए। लामो समय एउटै स्थानमा बसेका प्रहरीको हेरफेरपछि तस्करी नियन्त्रण र अपराध अनुसन्धानमा सहजता आएको प्रहरीको दाबी छ।
लागूऔषध नियन्त्रण र ‘स्विप अपरेशन’
पछिल्लो एक महिनामा सुदूरपश्चिममा लागूऔषधसम्बन्धी १ सय १४ मुद्दा दर्ता भएका छन् भने १ सय ८९ पुरुष र ७ महिला गरी १ सय ९६ जना पक्राउ परेका छन्।
कैलालीमा सञ्चालन गरिएको विशेष ‘स्विप अपरेशन’का क्रममा १ सय ४९ जनालाई नियन्त्रणमा लिइएको थियो। जसमध्ये ७४ जना प्रयोगकर्ता र २८ जना कारोबारीलाई कानुनी दायरामा ल्याइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सीमावर्ती क्षेत्रमा लागूऔषध र तस्करी रोक्न विशेष टोलीसहित संवेदनशील नाकामा स्निफर डग प्रयोग गरी रात्रिकालीन आकस्मिक गस्ती बढाएको छ।
तस्करी रोकथाम र फैसला कार्यान्वयन
भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १ करोड २७ लाख २३ हजार रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरी ९ जनालाई पक्राउ गरेको छ। यस्तै, वन पैदावार, वन्यजन्तु तथा नदीजन्य स्रोतको अवैध कारोबारमा संलग्न १८ जनालाई नियन्त्रणमा लिई २० लाख रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ।