सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २ जेठ सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
सुनसरी, ईनरुवा नगरपालिका ४ सुनसरी खोलास्थित ना.६ ख १८९९ नम्बरको मिनि ट्रकले को.२ ह ११४८ नम्बरको सिटी रिक्सालाई ठक्कर दिई ट्रक अनियन्त्रित भई पुन को.१ च ७०५१ नम्बरको मारुती भ्यान समेतलाई बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका सिटी रिक्सामा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय भरत साहको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ७ जनाको जिल्ला अस्पताल ईनरुवा हुँदै थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगरतर्फ पठाइएको छ । ट्रक चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

मोरङ, विद्यालयबाट घर फर्कने क्रममा साइकलबाट लडेर बिहीबार बिहान गम्भीर घाइते भएका विराटनगर महानगरपालिका(१८ डामाडिकी बस्ने १५ वर्षीय विक्रम कुमार अमातको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्ध स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।