ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।
मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा शुक्रबार साँझ ग्यास सिलिण्डर विष्फोट हुँदा चार जनाको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।
शुक्रबार साँझ म्हः पूजाको तयारी भइरहेका बेला घरको तेस्रो तलामा ग्यास सिलिण्डर विस्फोट भइ आगलागी भएको उनले बताइन् । चार जनाको शव निकालिएको र घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको उनले बताइन् ।
मृत्यु हुनेमा ६५ वर्षका ताम्राकारसहित उनकी छोरी अञ्जना, बुहारी रत्ना र एक नाति रहेको प्रहरीले जनाएको छ । दीपावलीका लागि बालिएको दियोबाट झ्यालको पर्दामा आगो सल्लेको र उक्त आगो ग्यास सिलिन्डरसम्म पुगेको प्रहरीले जनाएको छ ।
घटनाका बेला घरमा १० जना रहेकोमा चार जनाको मृत्यु भएको हो । घटनामा घाइते भएका दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । चार जनालाई सकुशल उद्धार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बज्राचार्यले जानकारी दिइन् ।