आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने बताएका हुन् । उनले भने,‘समायोजना भन्नुहोस वा अरु केही भन्नुहोस, तर यो मूल्यवृद्धि भएकै हो । समायोजन त निगमको बाध्यता हो । अहिलेको अवस्थामा यो फिर्ता हुँदैन् ।’
उनले पछिल्लो चार/पाँच वर्षको मूल्य हेर्दा पेट्रोलियम पदार्थको मात्रै मूल्यवृद्धि बढेको हो र ? भन्दै प्रश्न उठाएका छन् । आम उपभोक्तासँग जोडिएका अन्य वस्तुमा पनि मूल्यवृद्धि भएको उनको भनाई थियो ।
उनले भने,‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवृद्धि हो कि समायोजन ? भनेर साथीहरुले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजना नै भन्छौं, अनि घट्दापनि समायोजन नै भन्छौं ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो । यो पूर्ण रुपले अन्य मूलुकमा निर्भर हुने विषय हो। अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ ।
आयल निगमले जुन मूल्य सूचि प्राप्त गर्छ, हरेक चोटी हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ पार्छौं । सरकारको सम्बन्धित निकायले विश्लेषण गरेको हुन्छ ।
लेखापरीक्षणको रिपोर्टमा हाम्रो वार्षिक प्रतिवेदन आउँछ । हामीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नको लागि साधारणसभा आह्वान गर्दै आएका छौं, गत पुषमा हामीले साधारणसभा गरेका थियौं ।’
उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे । उपाध्याय पोडियममा बोल्दै गर्दा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता हुन्छ कि हुँदैन् ? ठ्याक्कै भन्नुहोस भनेर सोधेका थिए ।
सिटौला आक्रामक रुपमा प्रस्तुत भएपछि उपाध्यायले लोकतन्त्रमा सबैको बोल्ने अधिकार हुन्छ भन्दै सिटौला बोल्दै गर्दा आफूले धैर्यतापूवर्क सुनेको भन्दै अब आफ्नो बोल्ने पालोमा पनि शान्त भईदिन आग्रह गरेका थिए ।
उपाध्यायलय थप भनेका छन्–‘अहिलेसम्मको अवस्था हेर्दा मूल्यवृद्धि फिर्ता हुँदैन । सरकारले त यातायातको भाडा वृद्धि गरेको छ, अब निगमले मूल्यवृद्धि फिर्ता गर्ने या नगर्ने भन्ने कुरा होईन, यो सरकारको रिलेटेड कुरा हो ।
पेट्रोलियम पदार्थमा नाफारहित मूल्य हुनुपर्छ । यो कुरा त हामी पनि भन्छौं । राज्यको पूर्ण स्वामित्व भएको संस्था हो–आयल निगम । पाईपलाईन आउँदा २ रुपैयाँ घटाएका थियौं । यो त सुधारको कार्यक्रम हो ।’ उनले आफूहरु गत २० वर्षदेखि बोनस नखाएको पनि स्पष्ट पारे ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोखेका छन् । पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको उनको गुनासो छ ।
उनले भने,‘ऋषिजीले आज अत्यन्तै ज्वलन्त समस्याबारे छलफलको लागि बोलाउनुभयो । मैले इन्कार गर्न सकिनँ । हामी पीडामा परेका छौं । नेपाल आयल निगमको प्रवक्ता आउने कुार गर्नुभयो, तर मेरो विचारमा आउँदैन होला ।
आयल निगमलाई अहिले जनतासँग फेश गर्ने अवस्था छैन् । १२ दिनअघि मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकोले बढाएको भनियो, यो १२ दिनको बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्य ४ डलर घटेको छ, अनि आयल निगमले मूल्य वृद्धि भयो भनेर कसरी भन्न सकेको होला । १२ दिनमै खपिनसक्नुभयो, धेरै घाटा भयो भनेर मूल्यवृद्धि बढाईयो । यो गलत हो ।’
निगमले भारतीय बजारमा नेपाली बजारभन्दा महँगो पर्यो भनेकोबारे पनि उनले कडा आपत्ति जनाए । उनले भने,‘भारतीय बजारमा मूल्य बढ्यो अरे, के नेपाल भारतको अंग हो र ? भारतसँग मूल्य दाँज्नुको अर्थ नै छैन् ।
६ दिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थमा लगाएको अन्तशुल्क हटाईदिए, त्यहाँ अहिले प्रति लिटर २३ रुपैयाँ घटाईयो । यता आयल निगमले चाहीँ खाली एकोहोरो रुपमा अन्तर्राष्ट्रिय भाउ बढ्यो भनेको छ ।
अनि खाली आयल निगम डुब्यो भनेको छ । सुब्बा, खरदारले अफिसको मोटरसाईकल चढ्छ । तर, दैनिक १०५ रुपैयाँ यातायात सुविधा पनि लिन्छ । आयल निगमको कर्मचारी त शेखहरु भएका छन्, नेपालमा शेखहरु खोज्न कहीँ जानुपर्दैन्, आयल निगम गए हुन्छ ।’
उनले निगमले तीन करोड नेपालीलाइ हैरान पार्ने काम गरेको आरोप लगाए । उनले भने,‘निगमका कर्मचारीले बोनस किन खानुपर्यो ? मोजा धुनलाई सावुनको भत्ता भनेर लिएको छ, यो भन्दा बढि के चाहिएको थियो र ?
हामी सर्वसधारण उपभोक्तालाई मार नपर्नेगरि मूल्य निर्धारण गर्नुपर्छ । पेट्रोलियम पदार्थमा धेरै कर लिने गरिएको छ । यो सबै गलत छ । यी विकृतिहरु सच्याउनुपर्छ ।’
निगमलाई उनले जनतालाई हदैसम्म बेकुफ बनाउने काम नगर्न पनि चेतावनी दिएका छन् । उनले भने,‘सरकारको कूनीतिको कारण आज हामी जनता मारमा पर्नुपरेको छ ।विद्यार्थी आन्दोलित हुनुभयो, यो खुशीको कुरा हो । तपाईँहरु नेताहरुको घरघरमा गएर आवाज उठाउनुभयो भने भोलि नै मूल्यवृद्धि घट्छ।’
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन् । उनले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरेका छन् ।
उनले भने,‘कार्तिक १२ गते पेट्रोलियम मूल्यवृद्धि भयो । फेरि १५ दिन नपुग्दै कार्तिक २४ गते मूल्यवृद्धि भयो । हामीमाथि ठूलो अन्याय भएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अब सडकमा आयो । अब गाडी चल्न सक्दैन् । मूल्यवृद्धि अविलम्ब फिर्ता हुनुपर्छ । हामी पनि अब कठोर निर्णय गर्छौं ।
आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता हुनुपर्छ । फिर्ता भएन भने हामी भाडा बढाउन बाध्य हुन्छौं । गाडी पानीले चल्दैन् । उपभोक्ताका नेताहरु, हामी अब चुप लागेर बस्दैनौं । आयल निगमको जिएमको मात्रै दोष लगाएर हुँदैन् ।’
उनले नेपालका दलले नै आयल निगमलाई चलाएको आरोप लगाए । उनले भने,‘आयल निगमलाई मात्रै गाली गरेर हुन्छ ? भागबण्डा गरेका नेताहरु किन बोल्नुभएको छैन ?
अविलम्ब रुपमा मूल्यवृद्धि फिर्ता होस । आयल निगमले वैज्ञानिक प्रणालीको नाममा मूल्यवृद्धि गरेको भनेको छ, तर, आम उपभोक्ता मारमा छन् । पेट्रोलियम पदार्थको ५० प्रतिशत खपत गर्ने यातायात व्यवसायीहरु झनै मारमा छौं । मूल्यवृद्धि अविलम्ब फिर्ता नभए हामी कठोर निर्णय लिन बाध्य हुन्छौं ।’
सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरको आन्दोलन जारी रहने बताएका छन् ।
उनले भने,‘हामी अहिले सुतेर बसेका छैनौं । आज क्लबका सभापति ऋषि धमलाले झक्झकाउनुभयो । पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि भएको छ । हामी संघर्षमा छौं । हामीले पटक पटक आयल निगमलाई आग्रह गरेका थियौं कि, मूल्यवृद्धि हुनुहुँदैन् । भएको मूल्यवृद्धि फिर्ता हुनुपर्छ ।’
उनले को सत्तामा छ र को सत्ता बाहिर छ ? भनेर विद्यार्थी संगठनले अब आन्दोलन गर्ने वा नगर्ने भन्ने विषय नभएको पनि स्पष्ट पारे । उनले भने,‘यस्तो कुरा साथीहरुले पहिले गर्ने गरेका थिए, यो अघिको कुरा थियो ।
यो विद्यार्थी आन्दोलन सधैंभरिको स्थायी प्रतिपक्ष हो । हाम्रो एकसूत्रीय माग हो–यो मूल्यवृद्धि फिर्ता हुनुपर्छ। आयल निगमले गर्नसक्ने विषय धेरै छन् । स्वचालित मूल्यवृद्धि भन्दा अघि गएर अगाडि गएर मूल्यवृद्धि गरियो ।
आम उपभोक्ताको रोजगारी गुमेको छ । आम्दानी घटेको छ । मूल्य संचितीकरणको लागि खडा गरिएको कोष छ, यो रकम कहिलेको लागि हो ? कर उठाउने माध्यम यो ईन्धन मात्रै हो ?
८३ रुपैयाँमा किनेर १३६ रुपैयाँ लिने यो त गलत भयो नि ।’ उनले पेट्रोलियम पदार्थमा लगाईएको कर कटौती गर्नुपर्ने पनि धारणा राखे । उनले भने,‘आयल निगमले आवश्यक पहल गर्नुपर्छ । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव समिक बडालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको लागि आफ्नो संगठन सडक संघर्षमा आईसकेको बताउँदै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने र आफुहरुले आवाज उठाईरहने स्पष्ट पारेका छन् ।
उनले भने,‘अनेरास्ववियुले आयल निगमलाई आजभन्दा १२ दिन अघि नै अघिल्लो पटक मूल्यवृद्धि फिर्ता गर्न भनेको थियो, हामीले विरोध गर्यौं । प्रत्येक १५ दिनमा स्वचालित मूल्य कायम गरिने भनिएको छ, तर १५ दिन नपुग्दै मूल्यवृद्धि गरियो । यो गलत हो ।’
बडालले आयल निगम सेवामूलक भावनाले नचल्ने हो भने किन राख्नुपर्यो ? भन्ने प्रश्नसमे तगरे । उनले भने,‘हामीले मूल्यवृद्धिको विरोधमा देशभरि नै आन्दोलन गरेका छौं । आजपनि हाम्रो संगठनले सबै जिल्ला सदरमुकाममा आन्दोलन गरेको छ ।’
उनले मूल्यवृद्धिको मात्रै कुरा नभएर निगम शुद्धिकरणको लागि सरकारले पहलकदमी लिनुपर्ने आवाज उठाए । उनले भने,‘आयल निगमलाई मात्रै दोष नदिउँ ? सरकारले पनि पहल गरोस् ।
आयल निगमले मात्रै यो मूल्यवृद्धि गरेको होईन, यो सरकारको निर्देशनमा भएको हो । निगमभित्रको भ्रष्टाचार भएको विषयमा खोजिदिनुपर्छ । आयल निगमलाई सुधार गर्नुपर्छ । मूल्यवृद्धि फिर्ता नहुँदासम्म हाम्रो आवाज बुलन्द हुन्छ ।’
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताईन् ।
उनले भनिन्,‘हाम्रो संगठनले प्रतिपक्षी आन्दोलनको विरासत बोकेको ईतिहास छ । नेपाल विद्यार्थी आन्दोलनको आजको रोग भनेको अन्ध विरोध र अन्ध समर्थन नै हो ।
जनताका विरुद्धमा गरिने लुटपाट र भ्रष्टाचारमा अन्धभक्त समर्थन पनि भएका छन्, अनि जनप्रिय कामको विरोध पनि भएका छन् । तर, हामी त्यसो गर्दैनौं ।
अहिले मेरो पार्टी सरकारमा छ, महँगी बढेको छ, मूल्यवृद्धि भैरहेको छ । यो जनविरोधी निर्णय हो । जनताको चुल्हो निभाउने निर्णय हो । जनताको पक्षमा विद्यार्थी आन्दोलन हो । जनताको सवाललाई हामी शीरमा राख्छौं । मूल्यवृद्धिको विरुद्धमा हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं ।’
उनले अहिले आफ्नो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भने पनि आफूहरुलाई त्यो सरोकार नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने चेतावनी दिईन् ।
उनले भनिन्,‘जनताको जीवन निकै कष्टकर छ। मूल्यवृद्धि फिर्ता गर्न सकिन्छ, सरकारसँग धेरै विकल्प छन् । पहिलो विकल्प भनेको आयल निगमभित्रको भ्रष्टाचार नियन्त्रण गर्ने हो, दोस्रो भनेको निगमको चुहावट नियन्त्रण गर्ने, र तेस्रो विकल्प भनेको पेट्रोलियम पदार्थमा लगाईएको कर हटाउनुपर्छ । सरकारका अगाडि विकल्प नै विकल्प नै छ । मूल्यवृद्धि फिर्ता नभए हामी अर्को उत्कर्षको कार्यक्रम घोषणा गर्छौं ।’
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।
उनले भने,‘हाम्रो संगठन भनेको आयल निगमलाई झुकाउने संगठन हौं । आफ्नै पार्टीको सरकारमा हुँदापनि मूल्यवृद्धि घटाएको ईतिहास छ । सुरेन्द्र पौडेल कुन बेलामा नियुक्त िहुनुभयो ? उहाँले भ्रष्टाचार गर्नको निम्ति मूल्यवृद्धि गर्नुभएको छ । अहिलेको गबठन्धनलाई असफल बनाउनको लागि पौडेलले मूल्यवृद्धि गरेको हो, उहाँलाई तुरुन्त बर्खास्त गरियोस ।’
उनले अहिले आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै हेरिरहेको उल्लेख गर्दै अहिले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरि गरिएको मूल्यवृति अविलम्ब फिर्ता लिनेगरि कदम चाल्न पनि आग्रह गरेका छन् ।
उनले भने,‘प्रधानमन्त्रीले अहिले आपूर्ति मन्त्रालयपनि हेरिरहनुभएको छ । अर्थमन्त्रीले करसम्बन्धी हेरिरहनुभएको छ ।
के तपाईँहरु नेपाली जनताको चूलो चौको निभाउनतिर लाग्नुभएको हो ? हामीले त हिजो प्रतिगमनलाई ढाल्यौं । हामी त जनविरोधी कामको सधैं विरुद्धमा हुन्छौं । ऋषि धमलाजस्तो व्यक्ति एकचोटी सडकमा आएर जनताको पक्षमा बोल्नुहोस । अहिले बोल्न सकेनौं भने कहिल्यै पनि बोल्न सक्दैनौं ।’
उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्दै मूल्यवृद्धि फिर्ता गराउनको लागि विद्यार्थी आन्दोलनलाई सहज ढंगले अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘आयल निगमको भ्रष्टाचार छानबिन गर्नुपर्छ ।
अहिलेको सरकारले छानबिन गर्नुपर्छ । आयल निगमका प्रत्येक कर्मचारीलाई वरिपरिका छिमेकीहरुले गिच्याईरहेका छन् । छिमेकीहरुले आयल निगमका कर्मचारीलाई अब ढुंगा हान्नुपर्छ । यो आम जनताको सरोकारको विषय हो । अब आम विद्यार्थी र युवा उठ्नुपर्छ ।
यो मान्छे बाँच्ने सवाल हो । यो जीवन चलाउने सवाल हो । आयल निगमको बेथितिविरुद्ध बोल्नुपर्छ । मेरो पार्टी पनि सरकारमा छ, तर जनघाती काम गर्यो भने विरुद्धमा बोल्नुपर्छ ।
म बोल्छु । निगमका सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्छ । भ्रष्टाचारको छानबिन गर्नुपर्छ ।’ उनले मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने भन्दै कुनैपन िहालतमा सम्झौता नगर्ने स्पष्ट पारे ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त