• ट्रेण्डिङ :

न्यायाधीशविरुद्ध पनि आन्दोलन गर्ने बारको चेतावनी, आज पनि इजलासमा कोही बसेनन्

न्यायाधीशविरुद्ध पनि आन्दोलन गर्ने बारको चेतावनी, आज पनि इजलासमा कोही बसेनन्

cnewsnepal

मंगलबार, कार्तिक ३० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीहरुविरुद्ध समेत आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई साथ दिने वो उनको निरन्तरताका लागि पहल गर्ने न्यायाधीहरु विरुद्ध समेत आन्दोलन गर्ने बताएका हुन् । आज पनि बारकाे नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वाेच्चमा धर्ना जारी राखेका छन् ।

लामो आन्दोलन र दबाबपछि पनि प्रधानन्यायाधीशले राजीनामा नदिने देखिएपछि न्यायाधीशहरु नै विभाजित भएका छन् । प्रधानन्यायधीशको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरुको समूहबाट पाँच जना न्यायाधीशले अलग्गिएको घोषणा गरेका थिए । उनीहरुले इजलासमा बस्ने र प्रधानन्यायाधीशलाई सपोर्ट गर्ने आकलन गरिएको थियो, तर मंगलबार ती न्यायाधीश पनि इजलासमा भने बसेका छैनन् ।

न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, कुमार चुडाल र मनोज कुमार शर्माले सोमबार आन्दोलनरत न्यायाधीशहरुको छलफलमा सहभागी नहुने घोषणा गरेका थिए । केही सातादेखि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा रहेका न्यायाधीशहरू नै विभाजित भएपछि बारले उनीहरूप्रति पनि खबरदारी गर्न थालेको हो ।

मंगलबार प्रन्या जबराले विभिन्न इजलास र मुद्दाहरुको पेशी तोकेका छन् । तर दिउँसोसम्म पनि कुनै पनि इजलासमा न्यायाधीशहरु भने बस्न मानेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार