दुल्लु, २१ पुस । दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बोलेरो चालक भगवतीमाई–१ का ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताउनुभयो ।
शाहका अनुसार जीपमा सवार अन्य आठ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।
घाइते भएका अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।