२० भाद्र काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथी गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाँया सेन्टरमा खटिएका सुरक्षा गार्ड शेरजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।
मन्त्री श्रेष्ठले छाँया सेन्टरमा बायोमेट्रिक्स कामका लागि गएको बताए । छाँया सेन्टरमा भएको घटनाबारे जनताबाट आएका प्रतिकृयामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले जनताको प्रतिकृया स्वभाविक भएको तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको बताए ।
मन्त्री श्रेष्ठले घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सवै नेता/मन्त्री खराव हुन् भन्ने भ्रम सिर्जना गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह समेत गरे ।
मन्त्रीका पिएसओले श्रेष्ठ मन्त्री भएको जानकारी गराए पनि सुरक्षा गार्डले हप्कीदप्की गरेकोे आरोप छ । उनले आफू लाइनमै बस्दाबस्दै पनि सुरक्षा गार्डले दुर्व्यवहार गरेको दाबी गरेका छन् ।
शेरजंग गुरुङलाई जाहेरी परेपछि प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिई थुनामा राखेर अनुसन्धान अघि बढाएको हो ।
आफु मन्त्री भएको भन्दासमेत सुरक्षा गार्डले ‘आइ नो’ भन्दै झर्किने र सन्किने गरेको मन्त्री श्रेष्ठ बताउँछन् ।
काठमाडौं प्रहरीले सुरक्षा गार्ड गुरूङलाई दरबारमार्ग वृत्तमा राखी उनिमाथी अभद्र व्यवहारमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ ।