अागाे निभाउने क्रममा एक महिलाकाे मृत्यु

जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो।

गाउँ नजिकैको जंगलमा भएको आगो निभाउन गएका बेला उनी आगोमा परी जलेकी हुन्। आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

डोटीमा गएको एक महिनायतादेखि जङ्गलमा भीषण आगलागी भएको छ।

आगलागी नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

आगलागीका कारण यहाँका विभिन्न सामुदायिक तथा कबुलियती वन गरी करिब ७८० हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले जानकारी दिए।