प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझै १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताएका छन्।
उनले सत्ता गठबन्धन एकजुट भएर चुनावमा गएको पनि बताए। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिई बिजयी गराएमा गठबन्धन निरन्तर रहने उनको भनाइ थियो।
‘पाँच वर्षको अवधिमा केपी शर्मा ओलीले २ पटक संसद विघटन गर्नुभयो। हामी संविधानको रक्षाका लागि उत्रियौं, अदालत गयौं,’ काठमाडौं क्षेत्र नम्बर १० ले आयोजना गरेको चुनावी सभामा आज देउवाले भने, ‘संविधान रक्षा र स्थिरताका लागि गठबन्धन अझै आवश्यक छ।’
केसी मेहनती र विकासप्रेमी नेता भएकोले उनलाई मन्त्री बनाउने आश्वासन पनि देउवाले दिएका छन्। काठमाडौं १० मा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच मात्रै गठबन्धन छ।
प्रधानमन्त्रीले भने, “यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । पद्धति पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । आदिवासी, जनजाति सबैलाई हक दिएको छ । यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ ।” सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, “हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नुछ । नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यो महत्वपूर्ण छ । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ ।”
स्थायी शान्ति र लोकतन्त्रको सम्वद्र्धनका लागि गठबन्धन अपिरहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले सडक विस्तारका क्रममा समस्यामा परेका स्थानीयबासीलाई मुआब्जा दिने विश्वास दिलाए । “कसैको पनि सम्पत्ति बिना मुआब्जा भत्काउन पाइँदैन । भत्काउन त पाइन्छ, तर मुआब्जा दिएपछि मात्रै”, प्रधानमन्त्रीले भने, “अब मुआब्जा दिलाउने काम उहाँ (सो क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन केसी) को हो ।”
कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै मुलुकको सर्वाङ्गीण विकासका लागि गठबन्धनको जीत जरुरी रहेको बताए । विकास र समृद्धिको गति अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रको विकासका लागि पनि आफूले ध्यान केन्द्रीत गरेको बताए । उनले व्यापार घाटा कम गर्दै बेरोजगारीको अन्त्य र परनिर्भरताको अन्त्य गर्न लगानीको विस्तार जरुरी रहेकामा जोड दिए । सो क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार केसीले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले कृषि पर्यटन र ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए । उनले आफू ठोस योजना र कार्यक्रमसहित जनताको बीचमा आएको उल्लेख गरे । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले देशमा गणतन्त्र र राष्ट्रियताका लागि राष्ट्रिय जनमाेर्चाले ठुलाे लडाइँ लडेकाे बताउदै प्रतिगामी शक्तिलाई राष्ट्रिय जनमाेर्चाले पराजयका लागि लडेकाे बताए । उनलेे भने राष्ट्रिय जनमाेर्चालेनै केपी अाेलीले प्रतिगमन गरे पछि नयाँ सरकार निर्माण भएकाे वताए ।