२ फागुन, काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको नेपाल ट्रक यातायात व्यवसायी महासघंका महासचिवराजेन्द्र विक्रम बाँनियाले बताए ।
महासचिब बाँनियाका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ । उनले भने, मजदुरहरुले गरेको कार्यक्रममा हस्तक्षप गरेको प्रति दुख व्यक्त, दोषीको छानविन गरि कारबाही गर्ने,बन्दको कार्यक्रम तत्काल रोक्ने , उच्च स्तरिय यातायात सुधार समिति छुट भएका महासंघ मजुदुर संघ संगठनलाई सहभागीता गराउने लगायत विषयमा सहमती भएको छ ।’

मजदुरको बैठकमा, नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय सुँवार, नेपाल ट्रक यातायात व्यवसायी महासघंका महासचिव राजेन्द्र विक्रम बाँनिया,नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राई,नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी,अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, मजदुर नेता शिव प्रसाद पोखरेल सहभागी छन् ।
यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।
आन्दोलनको क्रममा आन्दोलनकारीले प्रहरीका दुई वटा सवारीसाधनमा आगो लगाएका थिए ।

सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए । बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोड समेत गरेको थियो ।
यातायात मजदुरहरुले आज काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वान समेत गरेका थिए । समस्या समाधानका लागि आज बिहानैदेखि सिंहदरबारमा सरकार र यातायात मजदुरका प्रतिनिधिहरुबीच वार्ता भएको थियो । सरकारसँग वार्तामा सहभागी यातायात मजदुरका नेताहरुले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका थिए ।