खानेपानीका योजनाहरु अघि बढाउन नयाँ मोडालिटीका साथ काम गर्ने तयारी गर्दैछौं : खानेपानी मन्त्री

दाङ, २३ जेठ । खानेपानी मन्त्री बिना मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु-याउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही  दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सह-आयोजनामा तुलसीपुरमा भएको खानेपानी संचालन तथा सुरक्षा योजना सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पु- याउने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।”

दाङ लगायत देशै भरीका विभिन्न सुख्खा क्षेत्रहरुमा  खानेपानीका केही ठूला आयोजनाहरुको बारेमा अध्ययन गरिरहेको मन्त्री मगरले जानकारी दिनुभयो ।

मन्त्री मगरले भन्नुभयो, ” प्रदेश र स्थानीय सरकार संग मिलेर केन्द्र सरकारले ठूला आयोजना अगाडि बढाउन र त्यसका लागि लगानी जुटाउने विषयमा मोडालिटीको बारेमा छलफल भैरहेको छ । सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, जुन आफैंमा अति महत्त्वपूर्ण कुरा हो । “

उहाँले दाङ जिल्लालाई महत्त्वपूर्ण प्राथमिकता दिएर पातुखोला जस्तो ठूलो आयोजनालाई मन्त्रालयले अघि बढाउन लागेको स्पष्ट पार्नुभयो । सरकारका आयोजनाहरुलाई कार्यान्वयन गर्न उपभोक्ता समितिहरुले खेलेको भूमिकाको मन्त्री मगरले प्रशंसा गर्नु भयो ।

कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य अमरबहादुर डाङगीले दाङ जिल्लामा भुमिगत र सतहका पानीका स्रोतहरु सुक्दै जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रिय सभाका सदस्य कोमल ओलीले जलवायु परिवर्तन र वातावरणको प्रभावले नेपालका पानीका मुहानहरु सुक्दै गइरहेको बताउनुभयो । विकसित मुलुकहरूका कारण नेपाल जस्तो अति कम विकसित मुलुकलाई असर पर्दै गइरहेको उहाँले जिकिर गर्नुभयो ।

पानीको स्रोत संरक्षणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने सदस्य ओलीले बताउनुभयो । दाङ जिल्लामा पिउने पानीको समस्या बढ्दै गइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले दाङ जिल्लामा पानी र सिचाइको अभाव हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । चौधरीले दाङमा बढ्दो सहरीकरण र औद्योगिकीकरणका कारण पानीका स्रोतहरु सुक्दै गएको औंल्याउनुभयो ।

दाङ जिल्लामा क्रमागत खानेपानी आयोजनाहरुको संख्या १ सय ३३ वटा रहेको र जसमा ९० वटा योजना संघ अन्तर्गत र ४३ वटा आयोजना प्रदेश अन्तर्गत रहेर संचालित भैरहेको  खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधी पोखरेलले जानकारी दिनुभयो ।